मध्यपूर्वका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाए

काठमाडौं । मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् ।

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइएको हो । राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गर्नुभयो ।

एनआरएनएले ”नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको गैरआवासीय नेपाली संघ आईसीसीका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो । उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले गरेको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमानले खरिद गरेको हो ।

एनआरएनए, मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीका अनुसार ५६० थान अक्सिजन सिलिन्डर आज नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो। उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले गरेको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमानले खरिद गरेको हो ।


प्रकाशित | १ जेष्ठ २०७८, शनिबार २०:०७