न्यून चापीय रेखा नेपाल नजिक: देशभर वर्षा, अझै तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं: मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो ।

त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३।०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | २५ असार २०७६, बुधबार १६:०७