बजेट बनाउने चटारो, आ–आफ्नो क्षेत्रको योजना लिएर मन्त्रालय धाउँदै सांसद

काठमाडौँ : संघीय संसद्को तेस्रो अधिवेशन सकिएको दिनदेखि नै जनताको योजना बुझ्न आआफ्नो निर्वाचन क्षेत्र पुगेका सांसदले अहिले योजना बोकेर मन्त्रालय धाइरहेका छन् । ११ चैतदेखि नै आआफ्नो निर्वाचन क्षेत्रमा समस्या बुझ्न त्यहाँ पुगेका सांसदले अहिले योजनाको सूची बोकेर त्यसका लागि आवश्यक बजेट विनियोजन गराउनका लागि विभिन्न मन्त्रालयसँग आग्रह गरिरहेका छन् ।

संघीय संसद्को चौथो अधिवेशन गत सोमबारबाट सुरु भएपछि त्यसका लागि राजधानी आएका सांसदहरूको दैनिकी नै मन्त्रालयमा मन्त्री र सचिव भेट्नमै बित्ने गरेको छ । मन्त्रालयमा सांसदहरूले योजना बोकेर आउँदा आफूहरूलाई योजना संकलनमा नै हम्मेहम्मे परेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ बताउँछन् । ‘माननीय ज्यूहरू नै आआफ्नो क्षेत्रको योजना बोकेर आउनुभएको छ,’ उनले भने, ‘माननीयहरूले ल्याएका कतिपय योजना समेटिएका पनि छन् भने कतिपय योजना समेट्न नै नसकिने अवस्थासमेत रहेको छ ।’ जनताको प्रतिनिधिको हैसियतमा सांसदहरूले योजना ल्याउनुलाई सामान्य रूपमा लिनुपर्ने उनी तर्क गर्दछन् ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार ०८:३३