विश्वकप क्रिकेट: न्युजिल्यान्डको सानदार विजयी सुरुवात

एजेन्सी :  न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित रहदै सानदार जित पक्का गरे ।

आक्रमक ब्याटिङ गरेका गुप्टिलले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । मुनरोले ४७ बलको सामना गर्दा ६ चौका र १ छक्का प्रहार गरे । श्रीलंकाका कुनै पनि बलरले विकेट लिन सकेनन् ।  त्यसअघि कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९.२ ओभरमा अल आउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो । ओपनर तथा कप्तान दिमुथ करुणारत्ने ५२ रनमा अविजित रहे । एक तर्फबाट निरन्तर विकेट गुम्दा अर्को तर्फबाट दवावमा रन जोडेका कप्तान दिमुथलाई कुनै पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । उनले ८४ बलमा ४ चौका प्रहार गरे ।

एक समय १५.२ ओभरमा ६०–६ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि थिसेरा परेरा र करुणारत्नले ५२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मिचेल सान्टनरको २४ ओभरको चौथो बलमा छक्का प्रहार गर्ने धुनमा परेरा टेन्ट बोल्टबाट २७ रनमा क्याच आउट भए । उनले २३ बलमा २ छक्का प्रहर गरे ।

श्रीलंकाले ओपनर लाहिरु तिरिमनेलाई सुरुवाती दोस्रो बलमै ४ रनमा गुमाएको थियो । उनलाई म्याट हेनरीले एलवी डब्लू आउट गरे । नवौं ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा कुशल परेरा कोलिन डी ग्राण्डहोमबाट २९ रनमा क्याच आउट हुन पुगे । क्याच आउट हुनुअघि २४ बलमा ४ चौका प्रहार गरे । लगत्तै अर्को बलमा म्याट हेनरीले कुशल मेन्डिसलाई सिलीपमा मार्टिन गुप्टिलबाट उत्कृष्ट क्याच गराउदै शून्यमा पेभिलिएन फर्काए ।

१२ औं ओभरको पाँचौ बलमा ल्योकी फग्र्युसनले धनन्जय डी शिल्भालाई ४ रनमा एलपी डब्लू आउट गरे । एन्जिलो मेथ्युज शुन्य र जीवन मेन्डिस १ रनमा आउट भए । तल्लोक्रमका इसरु उडाना डक,सुरुङ्गा लकमल ७ र लाथिस मलिङ्गा १ रन बटुले ।

न्युजिल्यान्डका म्याट हेनरी र ल्योकी फग्र्युसनले समान ३ विकेट लिए । जेम्श निशम,मिचेल सान्टानर,कोलिन डी ग्राण्डहोम र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार २०:०६