वाग्मती सफाइ महाअभियान जारी, चार मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं : वाग्मती सफाइ महाअभियान ३२१औँ हप्तासम्म जारी राखिएको छ । सफाइ शङ्खमूलको नदी किनारमा आयोजना गरिएको हो । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत २० संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मी सक्रिय हुनुभएको थियो । अभियानकर्मी मदन पोखरेलको जन्मदिनका अवसरमा नदी किनारमा बिरुवा रोपेर जन्मदिनको शुभकामना दिइएको थियो ।

वाग्मती सफाइका अभियानकर्मीले जन्मदिनका अवसरमा नदी किनारमा बिरुवा रोपेर मनाउने संस्कारको शुरुआत गरेका छन् । यसरी रोपिएको बिरुवा हुर्काउने प्रतिबद्धतासमेत अभियानकर्मीको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरियो । कुहिने र नकुहिने फोहरलाई स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताउनुभयो ।

वाग्मती सुन्दरीघाट सफाइको १३१औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले राससलाई बताउनुभयो । मनोहरा सफाइको १२०औँ हप्तामा कोटेश्वरस्थित आकाशे पुलमुनिको क्षेत्रमा सफाइ गरियो । सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक टन फोहर व्यवस्थापन भएको अभियानकर्मी चन्द्र दङ्गालले बताउनुभयो ।

चक्रपथ सफाइको ११८औँ हप्तामा नारायणगोपाल चोक क्षेत्रमा सफाइ गरिएको थियो । चक्रपथ बाफल खण्ड सफाइको ९९औँ हप्तामा स्युचाटारबाट सीतापाइलासम्म सफाइ गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले सुनाउनुभयो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, तिलगङ्गा, आलोकनगरलगायत क्षेत्रमा पनि आजको सफाइलाई निरन्तरता दिइएको अभियानकर्मीले जनाएका छन् । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ अभियान प्रत्येक हप्ताको शनिबार जारी छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशका १०५ भन्दाबढी स्थानमा स्वःस्फूर्तरुपमा शहर, नदी, सांस्कृतिक सम्पदालगायत सफाइ अभियान जारी छ ।


प्रकाशित | २२ असार २०७६, आईतवार ०७:२७