‘एनआरएनए डे’ मा विविध कार्यक्रमको आयोजना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवस मंगलबार विविध कार्यक्रमको आयोजना गरि मनाइँदैछ । एनआरएनए डे को अवसरमा मंगलबार बिहान ७ बजे स्वयंम्भु र पशुपतिनाथमा पूजापाठ गर्ने कार्यक्रम छ ।

त्यस्तै, बिहान ११ बजेदेखि होटल याक एण्ड यतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम दिउँसो २ बजेसम्म आयोजना हुनेछ ।

त्यस्तैगरि, एनआरएनए डे को अवसरमा औपचारिक कार्यक्रम दिउँसो १ बजे देखि याक एण्ड यतिमै शूरु हुनेछ । समारोहको उद्धघाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नु हुनेछ । समारोहमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गर्नु हुने छ ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री गोविन्द बन्दी, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजबादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागी लगायत नेपाल सरकारका उच्चपदाधिकारी तथा सचिवहरुको उपस्थिति रहनेछ ।

एनआरएनएको वार्षिक साधारणसभा शूरु

गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभा भने सोमबारदेखि सुरु भएको छ । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा आजबाट साधरण सभा सुरु भएको हो ।

साधारणसभामा संघका महासचिवद्धय गौरीराज जोशी र डा. केशव पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरुले आर्थिक प्रतिवेदन तथा संघको विधान समितिका संयोजक डा. हेम राज शर्माले विधान प्रतिवेदन पेश गर्नु भएको छ । प्रस्तुत प्रतिवेदनउपर छलफल जारी छ ।


प्रकाशित | २४ आश्विन २०७९, सोमबार २१:५३