मन्त्री पण्डितलाई बैठकमा आउन अन्तिम मौका : सहभागी नभए लोकसेवा आयोगको विज्ञापन रद्द हुने

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आगामी सोमबार बस्ने बैठकमा सहभागी हुन अन्तिम मौका दिने भएको छ । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनबारे सरकारको धारणा बुझ्न समितिले शुक्रबार बैठक राखेको थियो । बैठकमा अनुपस्थित भएपछि मन्त्री पण्डितलाई सोमबारका लागि अन्तिम मौका दिने भएको हो ।

सोमबार बस्ने बैठकमा मन्त्री पण्डित सहभागी नभए विज्ञापन रद्द गर्न सरकारमार्फत आयोगलाई निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन । मन्त्री पण्डितले शुक्रबार अपरान्हको बैठकमा आउने सहमति गरे पनि उपस्थित नभएकोमा उनले आपत्ति जनाएकी छन् । बैठकमा समितिका सदस्य विजय सुब्बाले मन्त्री पण्डितले २५ गतेपछि बस्ने बैठकमा आउने जानकारी गराए पनि निर्णय लिन हतारो गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित अनुपस्थित भएको उल्लेख गर्दै तत्काल विज्ञापन फिर्ता लिन आयोगलाई निर्देशन दिन श्रेष्ठलाई दवाव दिएका थिए । गत २० जेठबाट समितिले सो विषयमा छलफल गर्न खोजेपछि मन्त्री पण्डितले समितिको बैठक छल्दै आएको आरोप लाग्दै आएको छ ।

मन्त्री पण्डितले संसदीय समितिलाई छल्न खोजेकोमा सत्तारुढ नेकपाकै सांसदले समेत विरोध जनाएका छन् । संविधान र संघीयताविपरीत विज्ञापन आएकाले त्यसलाई फिर्ता लिनुपर्ने समितिका धेरै सदस्यको मत रहँदै आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार ०७:४५