साउदी युवराज र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सहयोगका विषयमा छलफल

रियाद – साउदी युवराज मोहम्मद बिन सलमानले बुधबार रियादमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेट गरेका छन् । साउदी प्रेस एजेन्सीका अनुसार सो अवसरमा साउदी अरेबिया र बेलायतले रणनीतिक साझेदारी परिषद् स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

भेटवार्ताको क्रममा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो । उनीहरूले युक्रेनको पछिल्लो घटनाक्रमलगायत साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूबारे पनि छलफल गरेको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

यसअघि जोनसनले अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अलनेहानसँग अबुधाबीमा भेट गरेका थिए। भेटको क्रममा बेलायत र युएईबीच ऊर्जा सुरक्षा, हरित प्रविधि र व्यापारमा सहकार्य बढाउने अवसरहरूबारे छलफल गरेका थिए।

जोनसन थप तेल आपूर्ति सुरक्षित गर्न र युक्रेनमा रूसको आक्रमणलाई लिएर राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढाउने प्रयासस्वस्प खाडीको भ्रमणमा छन्।

उनले रुसी ऊर्जा आपूर्तिमा बेलायती निर्भरता कम गर्न थप तेल सुरक्षित गर्ने उपायहरूको खोजी गरिरहेका छन्।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार ०९:३९