‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ: सरकारले अब घर–घरमा पुगेर रोजगारी दिने उद्घोष

भक्तपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारले कोही पनि काम नपाएर विदेशिनु नपर्ने गरि घर घरमा पुगेर रोजगारी दिने बताउनुभएको छ । भक्तपुरबाट ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घरघरमा गएर रोजगारी दिने बताउनुभएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ, सरकार कहाँ छ भन्नेलाई यहाँ जवाफ छ, हामी घरघरमा जागिर दिन आएका छौँ ।’ सो अवसरमा उहाँले सरकारको कामले विपक्षीलाई सहिनसक्नु बनाएको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारमा चकट देखाउन आएका होइनौँ, काम गर्न आएका हौँ ।’

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले पाँच लाख युवालाई जसरी पनि रोजगारी दिने गरि अगाडि बढिरहेको बताउनुभयो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तर्गत भक्तपुरबाट १५ सय बेरोजगारको निवेदन परेकोमा जिल्लाका चारवटा नगरपालिका सात सयजनालाई आंशिक रूपमा रोजगारी दिएको उहाँले जानकारी गराउनुभयो।

कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेश सांसद रजनी जोन्छे, सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा, मध्यपुरका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रलगायतले जिल्लामा अब रोजगारीको वातावरण बनेको भन्दै खुसी ब्यक्त गर्नुभएको थियो ।

सरकाले गत वर्षको फागुन १ गतेदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालनका गर्ने भन्दै तीन अर्ब बजेट विनियोजन गरेको थियो । जसअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । जसमा चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लख ७६ हजार र सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजारबराबरको रकम विनियोजित गरिएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १५:५२