विश्वकप क्रिकेट: पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी :  एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी ब्रिस्टलमा सुरु हुने छ । पाकिस्तान र श्रीलंका दुबै लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले हराएको थियो । वेस्ट इन्डिजसँग १ सय ५ रनमै अल आउट भएको पाकिस्तान उत्कृष्ट पुनरागमन सहित इंग्ल्यान्डविरुद्ध ३ सय ४८ रन बनाउँदै सवैलाई आश्चर्य पारेको थियो ।

मोहम्मद हफिज,बाबर आजम र कप्तान शरफराजले अर्ध शतक प्रहार गर्दा ओपनर पकार जमान र इमाम उल हकले पनि इंग्ल्यान्डविरुद्ध सुरुवात राम्रो प्रर्दशन गरेका थिए । इंग्ल्यान्डलाई हराएको पाकिस्तानको मनोबल पनि उच्च छ । वहाब रियाज,मोहम्मद आमिर र सादव खान बलिङका मुख्य हतियार हुन् । दुबै खेलमा खराव प्रर्दशन गरेका हसन अलीको स्थानमा आज पाकिस्तानले युवा खेलाडी शाहीन शाह अफ्रिदीलाई मौका दिन सक्छ ।

श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानमाथि ३४ रनको रोमान्चक जित हात पारेको थियो । पहिलो खेलमा कप्तान दिमुथ करुणारत्नेले ५२ र दोस्रो खेलमा कुशल परेराले ७८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । जसको कारण दुबै खेलमा सस्तैमा समेटिएको हो । मध्यक्रमको निराशजनक प्रर्दशन हुनु श्रीलंकाको ठूलो चिन्ताको विषय हो ।

बलिङ तर्फ अफगानिस्ताविरुद्ध ४ विकेट लिएका नुवान प्रदिप र ३ विकेट लिएका लाथिस मलिङ्गा पाकिस्तानका लागि घातक बन्न सक्छन् । विश्वकपमा श्रीलंकाले पाकिस्तानलाई हालसम्म हराउन सकेको छैन । विश्वकपमा ७ पटक एक अर्कासँग भिड्दा ७ खेलमै पाकिस्तान विजयी भएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार ११:३८