६० करोड लागतमा कागेश्वरी मनोहरामा बृहत्त खानेपानी आयोजनाको शिलान्यास, तीन हजार बढी घरधुरी लाभान्वित हुने (भिडियो रिपोर्ट)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ थली (आलेडाँडा) मा वृहत्त खानेपानी आयोजना अघि बढाइएको छ । ६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि डांछी भद्रबास बृहत्त खानेपानी आयोजना अघि बढाइएको हो ।

मेयर उपेन्द्र कार्कीले बुधबार आयोजनाको शिलान्यास गर्नु भएको छ । शिलान्यास पश्चात ६ सय घनमिटर ओभरहेड पानी ट्याकी बनेपछि स्थानीयले भोगीरहेको खानेपानीको समस्या समाधान हुनेमा मेयर कार्कीले विश्वास व्यक्त गर्नु भयो ।

खानेपानीको समस्याले महिला दिदी बहिनीहरु बढी मारमा पर्ने बताउँदै आयोजनाबाट महिला दिदी बहिनीहरु बढी लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो ।

मेयर कार्कीले यो आयोजना नभई हाईटेक, डिजीटल प्रणालीबाट सञ्चालीत खानेपानी आयोजना भएको बताउँदै आयोजना कार्यान्वयनसँगै अबको ३० वर्षसम्म जनसंख्या थपिदा पनि खानेपानीको विस्तार गर्ने क्षमतामा पुग्ने बताउनुभयो ।

मेयर कार्कीले स्थानीय, उपभोक्ता समिति, नगरका जनप्रतिनिधिदेखि सबैको आम सहमतिमा आयोजना अगाडि बढाउन पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

आयोजना सबैको ध्यान पुग्ने ठाउँमा रहेको बताउँदै मेयर कार्कीले आयोजनालाई नमूनायोग्य बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । आयोजनाको निर्माण ब्यवसायीले यसअघि पनि यस्ता आयोजना समयमै सम्पन्न गरेको लामो अनुभव भएकाले समय अगावै निर्माण सम्पन्न हुने बताउनुभयो ।

आयोजनाको ठेक्का सगरमाथा जेभीले पाएको छ । आयोजनाको निर्माण कम्पनीले यसअघि पनि थुप्रै आयोजना सम्पन्न गरेको बताउँदै समय अगावै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

३ वटा डिप बोरीङबाट पानी निकालेर ट्याङ्कीमा खसालीनेछ र सोही पानी वितरण गरिनेछ । योजनाका लागि उपभोक्ता समितिसंगै आम उपभोक्ता पनि जागरुक भएर भूमीका निर्वाह गर्नुपर्ने खानेपानी तथा ढल ब्यवस्थापन विभागका उपनिर्देशक तथा आयोजना प्रमुख रत्न प्रसाद लामिछानेको भनाई छ ।

लामिछानेले करिब ६० करोडको लागतमा आयोजना शूरु गरिएको बताउँदै एडीबीको प्रोजेक्ट भएकाले निर्माण ब्यवसायीलाई बोनस खाने गरि काम गर्न आग्रह गर्नुभयो । काठमाडौंभित्रै रहेकाले आयोजनामा बारम्बार आएर अनुगमन गरिरहने र आयोजनालाई छिटोभन्दा छिटो गुणस्तरीय रुपमा सम्पन्न गराउँदै जनताको घरघरमा पानी पुर्याउन सक्दो प्रयास गर्ने बताउनुभयो

आयोजनाको निरन्तर अनुगमन गरिरहने र छिटोभन्दा छिटो गुणस्तरीय रुपमा सम्पन्न गराउँदै जनताको घरघरमा पानी पुर्याउन सक्दो प्रयास गर्नेमा सरोकारवालाहरुको जोड छ ।

वडा नंं. ५ का वडाध्यक्ष शंकर पाण्डेले खानेपानी आयोजनाले स्थानीयको खानेपानीको मागलाई सम्बोधन गर्ने बताउँदै सबैको सहयोगले आयोजना अगाडि बढाउन पाएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

डांछी भद्रबास खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष रुपेन्द्र प्रसाद पुडासैनीले विगत चार वर्षदेखिको लगातार प्रयास सफल भएको बताउँदै आयोजना शूरु हुनुमा सबैको सहयोग रहेको बताउनुभयो ।

आयोजनाको पानी फिल्टर गर्ने कार्य करिब ८० प्रतिशत सकिएको बताइएको छ । सो आयोजना तोकिएको मितीमा सम्पन्न भए सो वडासंगै करिब ३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको लागि एसीयाली विकास बैकले ७० प्रतिशत अनुदान सहयोग गर्नेछ भने बाँकि कागेश्वरी मनोहरा नगरपालिका र स्थानीय उपभोक्ताको सहयोग रहनेछ ।


प्रकाशित | ८ चैत्र २०७९, बुधबार १७:५९