बेलायतमा कोरोनाले ६३ नेपालीको मृत्यु : दूतावास

लण्डन : बेलायतमा कोरोना संक्रमणको कारण ६३ जना नेपालीको मृत्यु भएको छ । लण्डनस्थित नेपाली दूतावासले शुक्रबारसम्म ६३ जना नेपालीको कोरोनाबाट मृत्यु भएको पुष्टी गरेको हो ।  दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृतकहरुमध्ये ५२ जना पुरुष र ११ जना महिला छन् ।

त्यस्तै, मृतकमध्ये भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य ५२ जना छन् भने बाँकी ११ जना गैरगोर्खा समुदायबाट छन् । कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका रहेको दूतावासले जनाएको छ । त्यसैगरी, कुल मृतकमध्ये आधा भन्दा केहि बढी लण्डनबाहिरका शहरबाट छन् भने बाँकी लण्डनका छन् ।

लण्डनबाहिर ननिटन, बेजिङस्टोक, रेडिङ लगायत क्षेत्रमा बढी नेपालीको मृत्यु भएको तर बेलायतमा सबैभन्दा बढि नेपालीको बसोबास रहेको अल्डरसट क्षेत्रमा तुलनात्मक रुपमा मृत्यु संख्या न्यून रहेको दूतावासको भनाइ छ । बेलायतमा कोरोनाको संक्रमण भएका धेरै नेपालीहरु भने अहिले निको भइसकेको दूतावासले जनाएको छ ।

अहिले पनि अस्पतालमै रहेर उपचार गराइरहेका संक्रमित नेपाली करिब १५ जना रहेको र घरमै ‘आइसोलेसन’ मा बस्नेको संख्या पनि खासै धेरै नरहेको बताइएको छ । दूतावासले ‘गोर्खा वेल्फेयर ट्रस्ट’, भूतपूर्व गोर्खाका संस्था, स्थानीय काउन्सिल लगायतसंगको समन्वयमा तथ्यांक संकलन गरिएको बताएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार ०८:१४