अष्ट्रियामा खोप नलगाएका मानिसलाई लकडाउन

अष्ट्रिया – यूरोपेली मुलुक अष्ट्रियाले खोप नलगाएका मानिसहरूका लागि लकडाउन लागु गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै पूर्ण मात्रा खोप नलगाएका करिब २० लाख मानिसहरूका लागि लकडाउन गरिएको हो ।

“हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौँ, तर दुर्भाग्यवश यो आवश्यक छ”, चान्सलर एलेक्जेन्डर शालेनबर्गले बताए । खोप नलगाएका मानिसहरूलाई काममा जाने या खानेकुरा किन्ने जस्ता सीमित कारणहरूको लागि मात्र घरबाहिर निस्कन अनुमति दिइएको छ ।

अष्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाएका छन् । जुन पश्चिम यूरोपको एकदमै कम दरमध्ये एक हो । यसैबीच, सात दिनको संक्रमण दर प्रति १ लाखमा ८ सय भन्दा बढी रहेको छ, जुन यूरोपको उच्च संक्रमण दर मध्येको एक हो ।

समग्रमा, यूरोप फेरि एक पटक महामारीबाट नराम्ररी प्रभावित हुने क्षेत्र बनेको छ । र थुप्रै देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन् र संक्रमण बढ्ने चेतावनी दिएका छन् । बीबीसी


प्रकाशित | २९ कार्तिक २०७८, सोमबार १२:१४