मध्यपुर थिमीमा हुने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पूरा, ३७ वटा स्टलहरु रहने

भक्तपुर: मध्यपुर थिमी नगरपालिकाले यही असार १६ गते हुने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पूरा भएको छ । मध्यपुर थिमी नगरपालिका २ सानोठिमीस्थित आदर्श माविको प्रांगणमा हुने मेलाको तयारी पूरा भएको हो । मेलामा ३७ वटा स्टलहरु रहने जनाइएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले तयारी र मेला बारेमा जानकारी गराएको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मेलामार्फत एक भन्दा बढी रोजगारीको ग्यारेन्टी गरिने बताउनुभयो । मेलामा रोजगारीका साथै वृत्ति मार्ग निर्देशन सम्बन्धी परामर्श सेवा, विभिन्न तालिम प्रदायक निकायले सिपमूलक र स्वरोजगारमूलक तालिमको जानकारी समेत गराउने नगर प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो ।

त्यस्तै, मेलाको अन्य आकर्षणहरुमा रोजगारको खोजीमा रहेकाहरुलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिइने र स्थानीय उत्पादनहरुको प्रदर्शनी रहेको जनाइएको छ ।

मेला आयोजक समितिका संयोजक एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले मेलामा विभिन्न उद्योग व्यवसायहरुबाट १६ वटा, मध्यपुर थिमि नगरपालिकाबाट ३ वटा, प्राविधिक शिक्षालयहरुबाट ९ वटा, स्थानिय उत्पादन (मध्यपुर माक्स मेकिङ्क र हस्तकला) बाट २ वटा, होटल व्यवसायी २ वटा, अस्पताल २ वटा, बैङ्क तथा वित्तिय संस्था १ वटा, वल्र्डलिङ्क १ वटा, ईन्स्योर परियोजना १ वटा गरी कुल ३७ वटा स्टलहरु रहने बताउनुभयो ।

मेलामा ३ हजार देखि ३ हजार ५ सय जनाले सहभागिता रहने अनुमान गरिएको छ । मेलाबाट कम्तीमा एक हजार ५ सय युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसँग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउने अपेक्षा गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।


प्रकाशित | १३ असार २०८०, बुधबार २२:५५