एनआरएनएमा देखिएको विवाद र समाधानका उपाय

रामप्रताप थापा- संरक्षक, गैर आवासीय नेपाली संघ

गैर आवासीय नेपाली संघ स्थापनाको झन्डै दुई दशकको इतीहासमा संस्था अहिलेसम्मकै कठिन मोडमा आइपुगेको छ । संस्था जुन उद्देश्यले स्थापना गरिएको थियो र स्थापना ताका जुन उत्साह थियो त्यो क्रमिक रुपमा घट्दै गएको छ । संस्था स्थापना ताका एकले बोलेको अर्कोले नकाट्ने, कर्के आँखाले कसैले नहेर्न मात्र नभई विदेशमा गैर आवासीय नेपालीहरुबीच आपसी सद्भाव, एकता असाध्यै बलियो थियो । तर सन् २००९ पछि संस्थामा विस्तारै विवादको विझारोपण हुन थाल्यो । डा. उपेन्द्र महत्तोले तीन कार्यकाल नेतृत्व गरेर नेतृत्व हस्तान्तरण गर्ने बेलादेखि निरन्तर रुपमा संस्थामा विवाद हुँदै आएको छ । त्यो बेला सानो विवाद थियो । तर ठूलो विवाद सन् २०१९–२०२१ कार्यकालको लागि भएको निर्वाचन ताका हायात होटलमा देखियो । जुन बेला सबैभन्दा ठूलो राजनीतिक दबाब देखियो । त्यो विकृतिलाई हटाउन वर्तमान अध्यक्ष कुमार पन्त जीले निर्वाचनमा भाग लिने प्रतिनिधिको सिस्टममा परिवर्तन गर्दै अनलाईन भोटिङ जस्ता महत्वपूर्ण सुधार ल्याउने प्रयास गर्नु भयो ।

कोभिड १९ का बाबजुत पनि कुमार जी नेतृत्वले निकै महत्वपूर्ण कार्य गर्न सफल भयो । कुमार जीले विकृति अन्त्य गर्न र संस्थालाई सुधार ल्याउने उद्देश्यले ल्याउनु भएको सुधारहरु कतीपयलाई मन परेन । संस्था गैरराजनीतिक र गैरब्यवसायीक हो । शूरुदेखि नै राजनीतिक जुत्ता र झोला बाहिर राखेर आउनुहोला भनेर हामीले भन्यो । तर अघिल्लो चुनावमा राजनीतिक र आर्थिक रुपमा जुन हस्तक्षेप भयो त्यसलाई रोक्नका लागि ल्याइएका परिवर्तनलाई सफल हुन नदिन विभिन्न विवादहरु झिकेर परराष्ट्र मन्त्रालयमा निवदेन दिने कार्य गरियो । त्यो संस्थाको लागि निकै विडम्वनापूर्ण थियो । साथै आफ्नै साथीभाईहरुबाट अनावश्यक रुपमा एनआरएनतर्फबाटै सरकारमाथि दबाब पर्यो । म तिम्रो पार्टीको हो, मैले चुनाव जित्नुपर्छ भनीयो । दलहरुलाई पनि लोभ लाग्यो र संस्थामा चरण रजनीतिकरण हुन थाल्यो । एनआरएनए स्वायत्त र पूर्ण अधिकार प्राप्त संस्था हुँदाहुँदै पनि परराष्ट्रलाई गुहार्न जानु अर्को गल्ती भयो । राजनीतिज्ञहरु र सिभिल सर्भीसबीचमा ठूलो अन्तर छ । परराष्ट्रबाट भइरहेको÷ चलिरहेको चुनाव रोक्ने सम्मको पत्र आयो । यस किसिमको पत्रले चुनाव रोकिनु, कार्यकालको समय फरक हुँदै जानु उचीत होइन ।

यो विषयमा नेपाल सरकारले एनआरएनबाट के फाइदा गर्यो ? सकारात्मक के काम गर्यो ? भन्ने विषयमा गम्भिर भएर सोच्नुपर्छ । जस्तो एनआरएनलाई सरकारबाट ठूलो रुपमा कुनै पनि सहयोग भएको छैन । अहिलेसम्म राहदानीदेखि नागरिकता, वैदेशिक लगानीको सहुलीयतदेखि कुनै पनि सहयोग पाएको छैन । बरु एनआरएनएले नेपाल सरकारलाई ठूलो योगदान र सहयोग गरेको छ । स्वभावैले नै हाम्रो गुणहरु हेरौ अनी अवगुणहरु पनि हेरौ । एउटा कुरा सम्बन्धीत मन्त्रालयले जे माग गरेको छ, त्यसलाई हेरेर गम्भिर रुपमा  लिदैं जे जे तोकेको छ त्यसलाई केलाऔ । विश्वभरिका सबै देशमा रहेका अवरोध हटाऔं । त्यसो गरेको खण्डमा एनसिसीहरु झन झन बलियो र परिष्कृत हुन्छन् । त्यो गर्न कुनै अवरोध छ जस्तो लाग्दैन ।

अर्को कुरा, हामी आ-आफ्नै हिसावले अगाडि बढ्छौ भने त्यो बाटो गलत छ । मन्त्रालयले टिपोट गरेका कतिपय बुँदाहरु अमिल्दो छन भन्ने कुरा पनि आएको छ । तर हामी राज्यविरुद्ध जानुपर्छ भन्ने लाग्दैन । सर्वोच्च अदालतमा निवेदन दिएको खण्डमा आउन सक्ने समस्यातर्फ पनि सचेत भएर अगाडि बढ्नुपर्छ ।  तर त्यसले दिर्घकालीन समस्या समाधान गर्न सक्दैन । यी सबै विकल्पका विषयमा गम्भिर छलफल गरेर संस्थालाई निकास दिनुपर्छ भन्ने मेरो धारण हो । सबैभन्दा उत्तम दुई पक्ष मिल्नू नै हो । उनीहरुबीचको सहमति नै विवाद समाधानका उत्तम विकल्प हो । तर सहमति तोडेर केहि ब्यक्तीलाई मन परेन भन्दै लाखौ नेपालीलाई भत्काउने त कुरा आउँदैन न नी ?

संस्थामा धेरै आर्थिक चलखेल भयो, पैसा धेरै खर्च भयो, गाह्रो भयो भनेर डेलिगेट्स सिस्टममा परिवर्तन ल्याइएको हो । त्यसैले डेलिगेट्स सिस्टमको विषयमा तुरुन्तै सहमति हुनु पर्ने थियो तर अग्रजहरु लाग्दा पनि त्यो सम्भावना देखिएन । त्यसकारण एनआरएनए खुस्कीयो भने हामी पनि खुस्कन्छौ र संस्स्था नै नरहे कोहि पनि रहँदैनौ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

अब संस्थालाई निकास दिन नयाँ बाटो खोज्नुपर्ने बेला आएको छ ।.मैले संरक्षकको हैसियतले भन्नुपर्दा आपत्तकालीन अवस्थामा मात्र संरक्षक परिषद्ले काम गर्ने हो भन्ने लाग्छ । तर वर्तमान कार्यसमितिले कोरोना महामारीमा यति धेरै काम गरेको छ । राम्रा काम तथा सुधारहरु गरेको छ । त्यसैले अहिले नै सानो सानो विवादमा संरक्षक परिषद्ले हस्तक्षेप गर्ने कुरा आउँदैन ।

सन् २००३ देखि निरन्तर रुपमा विभिन्न भूमीकामा रहँदै आउनु भएको थापा गैर आवासीय नेपाली संघको संरक्षक हुनुहुन्छ । विगत लामो समयदेखि एनआरएन नागरिकता निरन्तरता कार्यदल संयोजक रहँदै आउनु भएको थापा एनआरएनएको संस्थापकमध्येको एक  मानीनुहुन्छ । 


प्रकाशित | ६ कार्तिक २०७८, शनिबार २०:१३