ताजा जनादेशमा जाने सरकारको निर्णय स्वागतयोग्य : प्रवासी नेपाली एकता मञ्च

लन्डन । प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटिले ताजा जनादेशमा जाने सरकारको निर्णय स्वागतयोग्य कदम भएको बताएको छ । मञ्चले नेपालको संविधानको निर्देशानुसार ताजा जनादेशमा जाने नेपालको निर्णयलाई स्वागत गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” लाई साकार बनाउने गरी आम निर्वाचनमा सहभागी हुन सबैमा अपिल समेत गरेको छ । मञ्चका अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डेले एक बिज्ञप्ति जारी गर्दै सरकारको निर्णयको स्वागत गर्नु भएको हो ।

‘लोकतन्त्र जनताको अभिमतमा अडिएको हुन्छ । आवधिक रुपमा जनमतमा जानु या संबैधानिक परिघट्नाको वाध्यताले मध्यावधिक निर्वाचनमा गई जनताको अभिमत अनुसार देश सञ्चालन गर्नु आफैमा लोकतान्त्रिक विधि, पद्दति र परम्पराको उत्कृष्ट अभ्यास हो । यसर्थ, ताजा जनादेशमा जाने नेपालको निर्णय नेपालको लोकतन्त्र, समृद्धि र विकासको निम्ति स्वागतयोग्य छ,’ जारी बिज्ञप्तिमा भनीएको छ,

हाल ५० लाखभन्दा बढी मत हाल्न पाउने अधिकार भएका वालिगमताधिकारवाला नागरिकहरु देश बाहिर रहेको बताउँदै भनीएको छ, ‘यो नेपालको मतदाताको २५ प्रतिशतभन्दा बढी हुन आउँछ । यो जनशक्तिको अभिमतलाई यस निर्वाचनमा कसरी प्रकट गराउने भन्ने बारेमा नेपाल सरकार र निर्वाचन आयोगले अविलम्ब व्यवस्थापन गर्न जरुरी छ । जसको लागि प्रवासमै बसेर मतदान गर्न पाउने व्यवस्था गर्न नेपाल सरकार र निर्वाचन आयोग समक्ष जोडदार माग गर्दछौं ।’

त्यस्तै, ‘नेपालका राजनीतिक दलहरु र आम नेपाली जनसमुदायहरु कोभिड महामारीबाट अधिकतम रुपमा सजग, सतर्क र सुरक्षित रहँदै नेपाल सरकारले कोभिडबाट नेपाली जनतालाई बचाउने अधिकतम उपायको ब्यवस्थापन गर्दै आम निर्वाचनमा गई सदियौदेखि गरिबीको चपेटामा परेको देश नेपालको एउटै मात्र राष्ट्रिय संकल्प “समृद्ध नेपाल, सुखी नेपाली” लाई साकार बनाउने गरी आम निर्वाचनमा सहभागी हुन हार्दिक अपिल गर्दछौं’, बिज्ञप्तिमा भनीएको छ ।

त्यस्तैगरि निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निश्पक्ष, पारदर्शी, सबैको पहुँच हुने र स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुने गरी सभ्य राजनीतिक संस्कारको विकास गर्ने निर्वाचनको रुपमा सम्पन्न गरी नेपालको लोकतन्त्रलाई एक खुड्किलो समृद्ध बनाउन नेपाल सरकार, निर्वाचन आयोग, सम्बन्धित सबै पक्ष र आम समुदायलाई अपिल पनि गरिएको छ ।

प्रवासी नेपाली एकता मञ्च यूकेद्धारा पनि सरकारको निर्णयको स्वागत

त्यस्तै, प्रवासी नेपाली एकता मञ्च यूकेले पनि सरकारको निर्णयको स्वागत गरेको छ । यूकेका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहले एक बिज्ञप्ति जारी गर्दै सरकारको निर्णयको स्वागत गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is prawahi-mancha-689x1024.jpg

प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार २०:२९