वैदेशिक रोजगारीमा कोभिडको असर, साढे चार लाखले रोजगारी गुमाए

काठमाडौँ । कोभिड–१९ (कोरोना) महामारीका कारण पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षको अवधिमा ६० देशबाट चार लाख ५३ हजार ८४७ जना फर्किएका छन् तर त्यो सङ्ख्याको रोजगारी व्यवस्थापनमा पहल नगर्दै नयाँ कोरोनाको त्रास बढेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयालले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाको व्यवस्थापनका लागि सरकारीस्तरबाट सकारात्मक काम भएको दाबी गर्नुभयो । उहाँले गत वर्षको कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई व्यवस्थापन गर्न विभिन्न मन्त्रालयमार्फत झन्डै ११ लाखका लागि रोजगारी सिर्जना गर्नेगरी बजेट विनियोजन गरिएको र यसको समीक्षा हुन बाँकी रहेको बताउनुभयो ।

केन्द्रका अनुसार यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स ९यूएई०बाट एक लाख ४० हजार २१६ जनाले रोजगारी गुमाएर स्वदेश फकिएका छन् । यस्तै सो अवधिमा कतारबाट रोजगारी गुमाएर फर्किनेको सङ्ख्या एक लाख पाँच हजार ७७४ छ भने मलेसियाबाट ४८ हजार ४३५ जनाले रोजगारी गुमाएर फर्किए । त्यसैगरी साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारत ९उडान०बाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

त्यसैगरी सिङ्गापुरबाट पाँच हजार ५०३, ओमनबाट पाँच हजार ३७६ र दक्षिण कोरियाबाट तीन हजार ५६२, चीनबाट तीन हजार ५५८, हङकङ र मकाउबाट तीन हजार १६४ जना सो अवधिमा फर्किएका छन् ।

बङ्गलादेशबाट दुई हजार ५९५, बहराइनबाट एक हजार ३५५, अस्ट्रेलियाबाट एक हजार २४४ र माल्दिभ्सबाट एक हजार १८ जना कोभिड–१९ को असहज परिस्थितिका कारण रोजगारी गुमाएर स्वदेश फर्किएको केन्द्रले जनाएको छ । -गोरखापत्र


प्रकाशित | २३ बैशाख २०७८, बिहीबार ०९:५२