के एमाले विभाजनतर्फ उन्मूख भएकै हो ? (भिडियो रिर्पोटसहित )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेसँगै पार्टीभित्रको विवादले झनै उग्र रुप लिएको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्नुभएसँगै पार्टीभित्रको विवाद विभाजनको दिशातर्फ उन्मूख भएको छ ।

ओलीले एकपछि अर्को गर्दै नेपाल समूहका नेताहरुलाई कारवाही गर्ने रणनीति बनाउनुभएको देखिन्छ । पहिलो चरणमा त्यसको निशानामा नेपाल र रावल पर्नुभयो । अबको दोस्रो चरणमा स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई कारवाही गर्ने ओलीले रणनीति बनाएको बुझिन्छ । पाण्डे र भुसाल दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिनुभएको छैन ।

त्यस्तै, ओलीले नेपाल समूहका नेताहरुलाई गलाउदै पार्टीभित्रैबाट अस्तित्व सिध्याउने रणनीति बनाउनुभएको देखिन्छ । पार्टीभित्रैबाट अन्तरसङ्घर्ष गर्ने निर्णयका साथ एमालेमा फर्कीएका माधव पक्षधर नेता र सांसदहरू ओलीले बोलाएको संसदीय दलको बैठकमा सरिक भएपछि ओलीले अब नेपाल समूहलाई कुनै पनि हालतमा सिध्याउने रणनीति बनाएको विश्लेषण गरिन थालीएको छ ।

यसअघि गत फागुन २८ गते बसेको बैठकको निर्णय फिर्ता नलिइएसम्म र २०७५ जेठ २ गतेको स्थितिमा पुगेको एमाले सोहीअनुसार अघि नबढेसम्म माधव नेपाल पक्षधर नेता र सांसदहरू ओलीले बोलाएको संसदीय दल र पार्टीको केन्द्रीय समितिमा सामेल नहुने अडानमा थिए । तर नेपाल समूहले आफनो अडानमा बस्न नसकेपछि ओली समूह सशक्त र सफल बन्दै गएको देखिन्छ ।

माधव नेपाल पक्षधर समूहले केही गर्न पनि नसक्ने र सत्ताबाट सेवा सुविधा नपाउने देखेपछि ओलीसँगै मिल्न गएको विश्लेषण पनि गर्न थालीएको छ । अडानमा बस्ने केपी ओलीलाई माधव नेपाल पक्षले हल्लाउन नसकेपछि नेपाल आफै कारवाहीको भागीदार बन्नु परेको विश्लेषकको भनाइ छ । हेर्नुहोस भिडियो रिर्पोट :-


प्रकाशित | १६ चैत्र २०७७, सोमबार २१:५०