सफलताको कथा : च्याउखेतीबाट राम्रो आम्दानी

होमराज रानाभाट/ नवलपरासी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–२, की खिना भूषाल च्याउखेतीबाट राम्रो आम्दानी लिन मात्र सफल छैनन्, च्याउखेतीबाट गरेको आम्दानीले जीविकोपार्जनदेखि धेरै कुरामा सघाउ पुगेको छ । च्याउखेतीले पूर्वी नवलपरासी देशकै अग्र स्थानमा पर्दछ र यो जिल्ला च्याउ उत्पादन हुने जिल्लाका रुपमा अगाडि रहेको छ । ब्यबसायिक रुपमा कावासोती, मध्यबिन्दु देबचुली, गैंडाकोट नगरपालिका, हुप्सेकोट र बिनयीत्रिबेणी गाउँपालिका च्याउखेतीका लागि जिल्लामै धेरै अगाडि रहेको हुप्सेकोट गाउँपालिकाका कृषि प्राबिधिक राजेन्द्र गौडेलले बताउनुभयो ।

पूर्वी नवलपरासीको मध्यबिन्दुको प्रसौनी, तम्सरिया, मैनाघाट, च्याउखेतीको लागि उर्वर मानिन्छ । मध्यबिन्दु १५ प्रसौनीकी हरिकला महतो बार्षिक दुई हजार केजी च्याउ बिक्री गरेर छ लाख आम्दानी गरेको र कावासोती २ की खिना भूषालले वार्षिक एक हजार केजी कन्ने च्याउ उत्पादन गरी वार्षिक तीन लाख आम्दानी गरेको बताउनुहुन्छ ।

महत्तोले च्याउबाट गरेको आम्दानीले जेठो छोरालाई काठमाडौंमा बीएससी ,कान्छो छोरालाई हेल्थ साईन्समा अध्ययन गराईरहेका बताउनुभयो । घरमा श्रीमान र श्रीमती दुबै जना च्याउ उत्पादनका लागि रातदिन यसैमा खटेर लागी परेका र जिल्लामै च्याउ उत्पादनका लागि सफल कृषक बनेको बताउनुहुन्छ कृषि प्राबिधिक गौडेल ।

पूर्वी नवलपरासीमा अहिले वार्षिक एक करोडको च्याउ उत्पादन हुने त्यसमा सबैभन्दा बढी कन्ने, त्यसपछि गोव्रे र सीताके च्याउ उत्पादन भैरहेको गौडेलले बताउनुभयो । यहाँका पालिकाहरुले प्रत्येक किसानको घरघरमा पुगेर किसानलाई उत्प्रेरणा दिने गरेकाले नै अहिले पूर्वी नवलपरासी च्याउ खेतीमा अग्रणी जिल्लाका रुपमा रहेको च्याउ कृषक बताउँछन् ।

युवा र महिला शक्तिलाई च्याउखेतीतर्फ बढी आकर्षित गरेको, थारु जाती बढी यसमा संलग्न रहेका , च्याउ विक्रीका लागि बजारको समस्या नभएको, कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पूर्बी नवलपरासीमा च्याउखेती नमूनाका रुपमा रहेको र यसतर्फ हजारौं कृषक व्यावसायिक रुपमा लागिपरेका कृषि ज्ञान केन्द्रले जनाएको छ । स्रोत- गोरखापत्र दैनीक


प्रकाशित | २९ पुष २०७७, बुधबार ०७:११