बिहे गर्ने भन्दै फकाएर बलात्कार

ओखलढुंगा: विवाह गर्ने भन्दै फकाएर १८ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव स्थानीयको दबाबपछि पक्राउ परेका हुन्। किशोरीमाथि जवरजस्ती गरिरहेको अभिभावकले देखेर चौकी घेराउ गरेपछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए। यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ।

यादवले जंगलमै किशोरीलाई करणी गरिरहेका बेला उनका बुवाले देखेपछि घटना बाहिर आएको हो। पीडितले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी छिन्। उनको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर घर पठाइएको छ। यादवले यसअघि जगंलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरीलाई बिहे गर्ने आश्वासन दिएर करणी गरेको खुलेको छ। पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी बिहीबारबाट अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १०:११