टोड्केबाट अन्नपूर्ण, धौलागिरि, अवलोकन हुन्छ आँखाभरी

बेनी । दृष्यावलोकनका लागि महत्वपूर्ण मानिने म्याग्दीको टोड्के अहिले पूर्वाधार विकास भए सँगै पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाको सङ्गममा पर्ने टोड्के आन्तरिक पर्यटककको आकर्षक गन्तव्यको क्षेत्र बन्दै जान थालेको छ । टोड्केमा स्थानीयको लगानीमा सामुदायिक लज निर्माण गरी सञ्चालन गरेपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

दृष्यावलोकन तथा सूर्योदय हेर्नका लागि निकै उपयुक्त मानिने पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा आधुनिक सुविधासम्पन्न सामुदायिक लज सञ्चालनमा ल्याएपछि विगतको वर्षहरुको तुलनामा भन्दा पछिल्लोपटक पर्यटक आगमन बढेको स्थानीय बताउँछन् । समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्य बताउनुहुन्छ ।

टोड्के भ्रमण गर्नका लागि म्याग्दी जिल्लासहित बागलुङ, पर्वत, पोखरा, काठमाडौं र विदेशी मुलुकहरु जापान, चीन, फ्रान्सबाट पर्यटकहरु पुग्ने गरेका छन् । व्यस्त जीवनको तनावबाट मुक्त हुन, मनोरञ्जन लिन र डाँडाकाँडासहित हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न पर्यटक टोड्के जान्छन् ।

टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरुलाई स्थानीय उत्पादन मुलाको अचार, कोदो र फापरको ढिँडो, स्थानिय जातका कुखुराको मासुलगायत अर्गानिक खानाहरु खुवाउने गरिएको रिसोर्टका असिस्टेन्ट म्यानेजर मेनुका थजालीले जानकारी दिनुभयो । रिसोर्टमा अर्गानिक खानाका परिकारहरु खुवाउने भनेर कृषि खेती थालिएको छ भने मालिका धुरी र टोड्केमा रहेको स्वर्गाश्रमलाई लक्षित गरी मुक्तिनाथ जाने पर्यटकलाई तान्ने योजनासहित अगाडि बढिएको उहाँले बताउनुभयो ।

टोड्के लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपैयाँ भन्दाबढी लगानी गरेका छन् । रिसोर्टमा लगानी गर्नेहरु रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाका बासिन्दाहरु रहेका छन् । काठमाडौं, अमेरिका, जापान, हङकङ, पोर्चुगललगायत विदेशमा रहेका नेपालीहरुबाट पनि लगानी गरिएको छ । उक्त लजमा न्युनतम एकलाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म लगानी भएको छ ।

अहिले पर्यटकलाई लक्षित गरेर प्रालिद्वारा टोड्केमा हाई अल्टिच्युड प्ले–ग्राउण्ड, बनस्पति उद्यान केन्द्र, पार्क निर्माण तथा कृषि खेती गर्नतर्फ जोड दिइएको रिसोर्ट सञ्चालक भीम शेरचनले जानकारी दिनुभयो । गतवर्ष काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली ह्याण्डबल टीमले पनि टोड्केमा आएर हाईअल्टिच्युड ट्रेनिङ गरेको थियो ।

बेनी–अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्णगाउँ, बेनी–घतान–पात्लेखेत–झीँ र बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्णगाउँ भएर टोड्के पुग्नका लागि तीनवटा फरक रुट रहेका छन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि सजिलै पुग्न सकिने पर्यटकीय क्षेत्र टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी, दशौं अग्लो अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथी, गूर्जालगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । म्याग्दीको अधिकांश भू–भागसहित मुस्ताङ, बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिने टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकको मनै लोभ्याउँछ । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | २७ कार्तिक २०७७, बिहीबार ०७:०७