अन्तिम टेस्ट बराबरी, इंग्ल्यान्डलाई सिरिज

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ ।
साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो ।

अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज इंग्ल्यान्डले १-० ले जितेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

इंग्ल्यान्डविरुद्ध फलो अनमा परेको पाकिस्तानलाई बाबर आजमले अर्धशतकीय इनिङ्स खेल्दै हारबाट जोगाए । दोस्रो इनिङ्समा आजमले अविजित रहदै ६३ रन बनाए ।

यस्तै अबिद अलीले ४२ रन बनाउदा अजहर अलीले ३१ रन जोडे । इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए । यससँगै उनले टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गरे ।

टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन् । टेस्टमा यो कोशेढुंगा पुरा गर्ने एन्डरसन चौथो बलर हुन् । पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको थियो ।

अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तानलाई फलो अनमा पठाएको थियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो ।
क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेलेका थिए । त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे । कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए । पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिएका थिए ।


प्रकाशित | १० भाद्र २०७७, बुधबार ०८:१४