नेपालगञ्ज: इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ । बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् ।
इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन सिद्दिकीले जानकारी दिनुभयो । बकर इदको रमझम मुख्यगरी नेपालगञ्ज नगरमा देखिएको छ । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गरिएको छ । शहरी विकास मन्त्री राईले बकर इदको सम्पूर्ण देशवासीमा शुभकामनासमेत व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गर्नुभएको छ ।
बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुसलमान धर्मावलम्बीहरु पनि इदगाह पुगेका थिए । मुसलमान अगुवा सिद्दिकीका अनुसार तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी ९बलि) दिनुपर्ने प्रमुख विशेषता रहेको छ । बकर इदमा इस्लाम धर्मावलम्बीका लागि हज र कुर्वानी अनिवार्य भएकाले मुसलमान समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने प्रचलन रहेको छ ।
प्रकाशित | २७ श्रावण २०७६, सोमबार १३:००