विदेशमा कोरोनाबाट संक्रमणमुक्त हुने नेपालीको संख्या ३२ हजार नाघ्यो

काठमाडौं – विदेशमा कोरोनाबाट संक्रमणमुक्त हुने नेपालीको संख्या ३२ हजार नाघेको छ । हाल सम्म नेपाल बाहेक विदेशमा ३४ हजार ३ सय १ जना कोरोना संक्रमित भएकोमा तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।

गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लक्जेम्वर्गमा थप १ जनाको निधन भएको छ । समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको हो ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गर्नुभयो ।

यस्तै नेपालमा मात्र ३१ हजार १ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन । ती मध्ये १८ हजार भन्दा बढी कोरोनाबाट मुक्त भएका छन् । संक्रमणबाट मुक्त हुने संख्याको ५९ प्रतिशत रहेको छ । नेपालमा शनिबार साँझसम्म १४६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।


प्रकाशित | ७ भाद्र २०७७, आईतवार १५:४४