विश्वकप क्रिकेट : अष्ट्रेलियाले दियो वेस्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य

एजेन्सी :  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ । नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर अलआउट हुँदै २८८ रन बनायो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाको सम्मानजनक स्कोरमा नाथन कल्टर नाइलले ४ छक्का र ८ चौकाको मद्दतले ९२ रनको अर्धशतकीय खेले । यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस बाहेक अष्ट्रेलियाका एलेक्स क्यारीले ४५, मार्कस स्टोइनेस १९ तथा उस्मान ख्वाजाले १३ रनको योगदान गरे । वेष्ट इण्डिजका कार्लोस ब्य्रेथवेटले ३ विकेट हात पारे । यस्तै ओसाने थोमस, शेल्डन कट्रेल र आन्द्रे रसेलले समान २/२ विकेट हात पारे ।

ट्रेण्ड ब्रिज स्टेडियममा आज दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेल जित्दै सुखद सुरुवात गरेका अष्ट्रेलिया र वेष्ट इण्डिज दोस्रो खेलमा पनि अंक जोड्न चाहन्छ ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । वेष्ट इण्डिजले पाकिस्तानमाथि ७ विकेटको शानदार जित निकालेको थियो ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार १९:४८