सातौँ संस्करणको ‘उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ शनिबार हुँदै

काठमाडौं : उज्जवल तारा विद्यालयले नजिकिदो दशैंको अवसर पारेर यहि असोज २७ गते शनिबार दौड प्रतियोगिता गर्ने भएको छ । काठमाडौको पेप्सीकोलामा रहेको विद्यालयले सातौँ संस्करणको उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगितामा विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । स्वास्थ्य जीवनका लागि जनचेतना फैलाउने, दशैको अवसरमा शुभकामना आदानप्रदान गर्ने, पारिवारिक रमाइलोका लागि पनि कार्यक्रमको आयोजना गरिएको प्रतियोगिताका संयोजक विष्णु कार्कीले बताउनु भयो ।

यतिमात्रै हैन डा. भगवान् कोइरालाले बनाउन लाग्नु भएको अस्पतालको लागि सहयोग गर्ने उदेश्यले पनि प्रतियोगिता गर्न लागिएको संयोजक कार्कीले जानकारी दिनु भयो ।

सो अवसरमा खुल्ला पूरुष र महिलातर्फ १८ वर्ष भन्दा माथिकाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुष अभिभावक तर्फ १८ वर्ष भन्दा माथि, महिला अभिभावक तर्फ १८ वर्ष भन्दा माथिकाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रतियोगितामा १८ वर्ष भन्दा माथिका जोडिले पनि सहभागि हुन पाउनेछन् भने ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकले पनि सहभागि हुन पाउने छन् । महिला जेष्ठ नागरिक ५५ वर्ष भन्दा माथिकाले पनि प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।

प्रतियोगिता शनिबार बिहान ७ बजेबाट सुरु हुनेछ । विद्यालय प्रांगणबाट सुरु हुने दौड हरहरमहादेव हुँदै विष्ट गाँउ, फोर्स पार्क, विरेन्द्रचोक, गान्धी, खहरेचोक, सनराइज हुँदै विद्यालयमा टुंगिनेछ । प्रतियोगितमा करिब हजार जना सहभागि हुने अपेक्षा गरिएको छ ।

यो कार्यक्रम विगतका वर्षहरुमा पनि आयोजना गरिएको थियो । यो सोही परम्पराको निरन्तरता हो । तथापी गत वर्षबाट भने प्रतियोगिताबाट उठेको रकमबाट विभिन्न सहयोग पनि हुदैं आएको छ ।

कार्यक्रमका लागि कागेश्वरी मनोहरा नगरपालिकाले सहयोग गर्दै आएको छ । यस वर्ष भने प्रभु बैंकले पनि प्रतियोगिताका लागि सहयोग गर्ने भएको छ । यस्तै अन्य थुप्रै सहयोगी हातहरु भएको संयोजक कार्कीले बताउनु भयो ।

प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार सहित ट्रफी र मेडल तथा अन्य सुविधाहरुको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रकाशित | २६ आश्विन २०८०, शुक्रबार २०:५१