उपत्यकामा आइतबारदेखि दुई साताका लागि अत्यावश्यक बाहेकका कार्यालय बन्द गर्ने निर्णय

काठमाडौं – काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय दुई साताका लागि बन्द हुने भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक सबै सरकारी, गैर सरकारी तथा निजी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोर बिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ । साथै उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।


प्रकाशित | २३ श्रावण २०७७, शुक्रबार १५:४७