डा रोजित श्रेष्ठ, डा पूजा न्यौपाने
केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि हुनेको संख्या तीव्र गतिले बढिरहेको छ। यो महामारीको सामना गर्न विकसित राष्ट्रलाई समेत हम्मेहम्मे परिरहेको बेला नेपालजस्ता विकासशील देशलाई झनै ठूलो चुनौतीको सामना गर्नुपर्ने निश्चित छ।
कोरोना महामारीलाई नियन्त्रणमा राख्न कोभिड-१९ को निदानको लागि गरिने प्रयोगशाला परीक्षणको भूमिका निकै महत्वपूर्ण हुन्छ। किनकि त्यसैका आधारमा बिरामी पहिचान गरी आइसोलेसन गर्न सकिन्छ अनि आवश्यक परे उनीहरूलाई उपचार गर्न सकिन्छ। यसले संक्रमितको निकट सम्पर्कमा आएका व्यक्ति पनि पत्ता लगाउन मद्दत गर्छ अनि उनीहरूको निरन्तर स्वास्थ्य अवस्था अनुगमन गर्न सकिन्छ र आवश्यक परे परीक्षण गर्न पाइन्छ।
नेपालमा कोरोना भाइरसको लागि पिसिआर र आरटिडी गरी दुई किसिमका प्रयोगशाला परीक्षण प्रयोगमा छन्। हालसम्म करिब ६० हजार पिसिआर र १ लाखको हाराहारीमा आरडिटी परीक्षण भएका छन्। पिसिआर परीक्षण प्रदान गर्ने प्रयोगशालाको संख्यालाई केही महिनामै १ बाट झन्डै २० बनाएको नेपाल सरकारको काम सराहनीय छ।
तर, आउँदा दिनमा यसलाई थप विस्तार गर्नुपर्ने देखिन्छ। आरडिटी परीक्षण व्यापक रूपमा भए तापनि कोभिड-१९ संक्रमण पहिचानमा यसको भूमिका भने अनिश्चित छ। किनभने आरडिटी परीक्षणको धेरै मौलिक सीमितता हुन्छन्। यसलाई हामीले यो लेखबाट प्रष्ट पर्ने प्रयास गरेका छौं।
वास्तविक-समय रिभर्स ट्रान्सक्रिप्टेस पोलिमरेज चेन रिएक्सन विधि प्रयोग गरी कोरोना भाइरसको न्युक्लिक एसिड (आरएनए) पत्ता लगाउन सकिन्छ। कोभिड-१९ को निदानको लागि पिसिआर विधि अहिलेको एक मात्र विश्वसनीय प्रयोगशाला परीक्षण हो। यो परीक्षणमा रोग शंका गरिएका व्यक्तिको श्वास प्रणालीको माथिल्लो भागबाट नेजोफ्यारेन्जियल स्वाब र ओरोफ्यारेन्जियल स्वाब अथवा तल्लो श्वास नलीबाट आउने खकार र ब्रोन्किओअल्वेलर ल्याबेजजस्ता नमुनामा कोरोना भाइरसको आरएनए पहिचान गरिन्छ।
श्वासप्रश्वास प्रणालीमा यो भाइरसले आफ्नो संख्या वृद्धि गर्ने हुँदा पिसिआर परीक्षणबाट संक्रमण भएको २/३ दिनमै रोग पत्ता लगाउन सकिन्छ (चित्र हेर्नुहोस्)। सामान्यतया संक्रमण भएको ३/५ दिनभित्रै यस भाइरसको संख्या उच्च तहमा पुग्छ। त्यसैले श्वास प्रणालीबाट नमुना संकलन गर्न यो उत्तम समय हो। साधारणतया यो भाइरसको संख्या संक्रमण भएको दुई हप्तामै कम हुँदै जान्छ र पिसिआर पोजिटिभ आउने सम्भावना न्यून हुन्छ। त्यसैले पिसिआर परीक्षणमा स्वाब संकलन गर्ने समयको निकै महत्व हुन्छ।
संक्रमित व्यक्तिमा धेरै छिटो समय वा धेरै ढिलो दिनपछि नमुना संकलन गर्दा पिसिआर नतिजा गलत नेगेटिभ (फल्स नेगेटिभ) देखिने सम्भावना बढी हुन्छ। किनभने यस्तो समयमा नमुनामा भाइरसको संख्या निकै कम हुन्छ। पिसिआर परीक्षण गर्दा ‘फल्स नेगेटिभ’ परिणाम आउनु असामान्य होइन। फल्स नेगेटिभ नतिजा आउनुमा थुप्रै कारण छन्। स्वाब संकलन गर्दा नाकको भित्री भागसम्म पुग्नुपर्छ। सफल पिसिआर परीक्षणका लागि नमुना संकलन, भण्डारण र स्थानान्तरणमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
पिसिआर परीक्षण प्राविधिक रूपमा गाहो र महँगो विधि हो। अनि व्यापक रूपमा यो विधि उपलब्ध पनि छैन। तर पनि डब्लुएचओ र सिडिसी जस्ता सम्मानित अन्तर्राष्ट्रिय संगठनले सिफारिस गरेको एक मात्र परीक्षण विधि पिसिआर नै हो। किनभने यो परीक्षणले कोरोना संक्रमणलाई प्रारम्भिक चरणमै पत्ता लगाउँछ, जुन बेला बिरामीले सजिलै अरूलाई रोग सार्न सक्छन्। यस्तो समयमा संक्रमण पत्ता लगाउनसके कोभिड-१९ महामारी नियन्त्रण प्रभावकारी हुन्छ।
जब ब्याक्टेरिया तथा भाइरसजस्ता सूक्ष्म जीव हाम्रो शरीरमा प्रवेश गर्छन् तब हाम्रो प्रतिरक्षा प्रणाली संक्रमण विरुद्ध लड्न उत्तेजित हुन्छ। यस्ता रक्षा प्रणालीको एक तरिका भनेको एन्टिबडी उत्पादन गर्नु हो, जसले संक्रमण विरुद्ध लड्न मद्दत गर्छ। एन्टिबडी ५ प्रकारका हुन्छन्: आइजिएम, आइजिजी, आइजिए, आइजिई र आइजिडी। संक्रमण विरुद्ध उत्पादित यस्ता एन्टिबडी (विशेषगरी आइजिएम र आइजिजी) पहिचान गरी किटाणुद्वारा हुने रोग निदान गर्ने विधि व्यापक प्रयोगमा छ। उदाहरणका लागि एचआइभी संक्रमण निदानका लागि बिरामीको रगतमा एन्टिएचआइभी एन्टिबडी पहिचान गर्ने गरिन्छ र यो विधि विश्वभरि प्रयोगमा छ। रगतमा त्यस्ता एन्टिबडी पत्ता लगाउन विभिन्न विधि हुन्छन्। तीमध्ये एउटा सजिलो विधि हो- पोइन्ट अफ केयर टेस्टिङ अर्थात् र्यापिड टेस्टिङ।
नेपालमा यस्ता द्रुत एन्टिबडी परीक्षण र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) को नामले लोकप्रिय छ। तर र्यापिड डायग्नोस्टिक टेस्ट शब्द प्रयोग आफैंमा भ्रामक छ किनभने यो आरडिटी केवल कोभिड-१९ संक्रमण विरूद्धका एन्टिबडी पत्ता लगाउने द्रुत परीक्षण हो, डायग्नोस्टिक होइन। यसको सट्टा कोभिड-१९ ‘एन्टिबडी टेस्ट’ प्रयोग गर्नु उपयुक्त हुन्छ। किनकि यो भाइरसविरूद्ध एन्टिबडी पत्ता लगाउने परीक्षण हो, प्रत्यक्ष भाइरसको भने परीक्षण होइन। यस किसिमका र्यापिड टेस्टबाट भाइरल प्रोटिनका टुक्रा (एन्टिजेन) लगाउन पनि प्रयोग गर्न सकिन्छ। अहिले विश्व बजारमा र्यापिड एन्टिजेन टेस्ट पनि उपलव्ध छ र कतिपय देशहरु एन्टिजेन परीक्षणका लागि तयारी गरिररेका छन्। कोभिड-१९ को निदानमा एन्टिजेन परीक्षणको भूमिका ‘गेमचेन्जर’ पनि हुन सक्छ।
हालसालै आरडिटी परीक्षणको संख्या बढेसँगै आरडिटी पोजिटिभ भएका मान्छेमा पिसिआर नेगेटिभ, आरडिटी नेगेटिभ भएकामा पिसिआर पोजिटिभ जस्ता समाचारहरुले सामाजिक सञ्जाल र जनमानसमा द्विविधा र भ्रम सिर्जना गरेको छ। वास्तवमा यस्ता नतिजा आउनु कुनै नौलो भने होइन।
यसलाई बुझ्न पहिले कोभिड-१९ संक्रमणको प्रतिरक्षा प्रतिक्रिया जान्न जरुरी हुन्छ। संक्रमित व्यक्तिलाई कोभिड-१९ विरुद्ध एन्टिबडी उत्पादन गर्न १ हप्ताभन्दा बढी लाग्छ, जुन पत्ता लगाउन सक्ने मात्रामा पुग्न २ हप्तासम्म पनि लाग्न सक्छ। साधारणतया संक्रमण भएको ८-१० दिनमा बिरामीको शरीरले आइजिएम प्रकारको एन्टिबडी उत्पादन गर्न सुरु गर्छ।
संक्रमणको १ महिनाभित्र आइजिएम एन्टिबडी उच्च तहमा पुग्छ र विस्तारै घट्छ (चित्र हेर्नुहोस्)। बिरामीले आइजिजी भन्ने अर्को प्रकारको एन्टिबडी पनि उत्पादन गर्छ, जुन १०-१२ दिनभित्र रगतमा बढ्न थाल्छ र कम्तीमा केही महिनासम्म रगतमा रहिरहन्छ (चित्र हेर्नुहोस्)। जब शरीरमा एन्टिबडीको मात्रा बढ्दै जान्छ, तब त्यसले कोरोना भाइरसलाई नष्ट गर्न थाल्छ र विरामी विस्तारै रोगबाट मुक्त हुँदै जान्छ। त्यसकारण धेरैजसो बिरामीमा सक्रिय भाइरसको संख्या कम हुँदै ३ हप्तासम्ममा भाइरसमुक्त हुन्छन्। यसको मतलब संक्रमणको प्रारम्भिक चरणमा पिसिआर पोजिटिभ हुन्छ तर आरडिटी भने नेगेटिभ हुन्छ। सामान्यतया संक्रमणको २ हप्तातिर पिसिआर र आरडिटी दुवै पोजिटिभ हुनसक्छ। त्यसपछि भने पिसिआर नेगेटिभ हुने सम्भावना उच्च हुन्छ तर आरडिटी चाहिँ लामो समयसम्म पोजिटिभ नै भैराख्छ (चित्र हेर्नुहोस्)।
एन्टिबडी परीक्षण (आरडिटी) का धेरै मौलिक सीमितता हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा यो कोरोना भाइरस संक्रमणको प्रतिक्रियामा बिरामीको प्रतिरक्षा प्रणालीले बनाएको एन्टिबडीको पहिचानमा निर्भर गर्छ। एन्टिबडी परीक्षणले प्रत्यक्ष भाइरस पत्ता लगाउँदैनन्, त्यसैले प्रारम्भिक संक्रमणको स्क्रिनिङका लागि उपयुक्त हुँदैन। रोगको प्रारम्भिक चरणमा आरडिटीको नतिजा नेगेटिभ आउँछ। तसर्थ कोभिड-१९ निदानका लागि एन्टिबडी परीक्षण घातक पनि हुन सक्छ। साथै बुढापाका वा रोग प्रतिरोधात्मक शक्ति कम भएका बिरामीको शरीरले एन्टिबडी विकास नगर्न पनि सक्छ। यसअतिरिक्त विभिन्न अनुसन्धानमा देखिएअनुसार आइजिएम एन्टिबडी पहिचान क्रमलाई क्रस-रिएक्सनले प्रभाव पार्न सक्छ र फलस्वरूप नतिजा गलत अर्थात् ‘फल्स पोजिटिभ’ पनि देखिन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालको एन्टिबडी परीक्षणले अन्य मानव कोरोनाभाइरससँग क्रस-रिएक्सन गर्न सक्छ जसको कारण पनि ‘फल्स पोजिटिभ’ नतिजा देखिन सक्छ। जनस्वास्थ्यका दृष्टिकोणबाट सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आरडिटी परिणाम नेगेटिभ भए पनि प्रारम्भिक चरणमा रहेका कोभिड-१९ का बिरामीले अरूलाई यो रोग सार्न सक्छन्।
अर्कातर्फ एन्टिबडीको मात्रा बढ्दै जाँदा कोरोना भाइरसको संख्या विस्तारै घट्दै जान्छ (चित्र हेर्नुहोस्)। दुईदेखि तीन हप्तासम्ममा भाइरस पूर्ण रूपमा हराउन सक्छ तर एन्टिबडी लामो समयसम्म रगतमा रहिरहन्छ। यसको अर्थ के हो भने आरडिटी पोजिटिभ छ भन्दैमा व्यक्ति अहिले कोरोनाबाट पीडित छ भन्न कठिन हुन्छ। बरु आरडिटी पोजिटिभ भएका बिरामीमा पिसिआर नतिजा नेगेटिभ आउने सम्भावना धेरै हुन्छ। त्यसकारण के बुझ्न जरुरी छ भने आरडिटी परीक्षणको नेगेटिभ नतिजाले न बिरामी संक्रमित छैन भन्न सकिन्छ न पोजिटिभ नतिजाले संक्रमित छ भन्न मिल्छ। कुनै व्यक्तिमा एन्टिबडी देखियो भने यसको सिधा अर्थ हुन्छ- ऊ अहिले वा पहिले कोभिड-१९ बाट संक्रमित व्यक्ति हो। तर पोजिटिभ पिसिआर परिणामले भने हालको संक्रमण पहिचान गर्छ।
कोभिड-१९ को निदान र अनुगमनमा आरडिटी परीक्षणको भूमिका र प्रभावकारिताबारे अहिले धेरै बहस भइरहे तापनि डब्लुएचओ, सिडिसी, एनएचएस जस्ता स्वास्थ्य संगठनले एन्टिबडी परीक्षणलाई कोभिड-१९ को निदानका रूपमा प्रयोग गर्न सिफारिस गरेका छैनन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) द्वारा हालसालै प्रकाशित कोभिड-१९ एन्टिबडी परीक्षणको अन्तरिम दिशानिर्देशिका अनुसार एन्टिबडी परीक्षणको कुनै पनि फाइदा पहिचान गरिएको छैन। तर पनि विगतको संक्रमण पहिचान गर्न र संक्रमित व्यक्तिमा प्रतिरक्षा प्रणालीको स्थिति थाहा पाउन वा खोप (बनेपछि) को प्रभावकारिता अध्ययन गर्न यस्ता एन्टिबडी परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ। यस्तै एन्टिबडीको र्यापिड टेस्ट नगरी यसको रगतमा बास्तविक मात्रा कति छ भनि हेर्ने परीक्षणको भने भूमिका भने महत्त्वपूर्ण हुन्छ। एन्टिबडीको मात्रा बढ्दै जानुले पनि हालको संक्रमणतर्फ संकेत गर्छ। अन्तत आरडिटी परीक्षणमा राज्यले थप लगानी र मानव शक्ति प्रयोग गर्नुभन्दा पिसिआर विधिमै ध्यान केन्द्रित गर्दा उपयुक्त हुने देखिन्छ। अनि र्यापिड एन्टिजेन टेस्टको लागि आवश्यक गृहकार्य सुरु गर्नु पनि आजको आवश्यकता हो।
संक्षेपमा
१. माथिल्लो श्वास-प्रणालीबाट निकालिएको नमुनामा पिसिआर गरिए मात्र बिरामीको संक्रामक अवस्था पहिचान गर्न सकिन्छ।
२. प्रारम्भिक चरणको कोभिड-१९ संक्रमणको निदानमा आरडिटी परीक्षणको कुनै भूमिका हुँदैन।
३. आरडिटी परीक्षणले रोगको सुरुवाती अवस्था पहिचान गर्न सक्दैन तर यो विधिले नेगेटिभ नतिजा दिएका बिरामीले अन्य व्यक्तिमा संक्रमण फैलाउन सक्छन्।
४. आरडिटी परीक्षणको नेगेटिभ नतिजाले न कोभिड-१९ संक्रमित छैन भन्न सकिन्छ न पोजिटिभ नतिजाले संक्रमित छ भन्न सकिन्छ।
(डा श्रेष्ठ जापानस्थित होक्काइडो विश्वविद्यालय, चिकित्सा प्रयोगशालाका उपप्राध्यापक हुन् भने डा न्यौपाने जापानस्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय होक्काइडो, जापानकी माइक्रोबायोलोजिस्ट हुन्)
स्रोत- स्वास्थ्य खवर
प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार १४:४१