एनआरएनएद्धारा ओमिक्रोन बारे जनचेतना सम्बन्धी स्वास्थ्य सामग्री प्रकाशन

काठमाडौं – गैर आवासीय नेपाली संघले कोराना भाइरसको ओमिक्रोन भेरियन्ट बारे जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य सम्बन्धी सामाग्री प्रकाशन गरेको छ । संघको स्वास्थ्य समितिका अनुसार एनआरएनए स्वास्थ्य विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी प्रश्नहरु र ती सम्बन्धी विषयमा जवाफ तयार गरेका छन् ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार समितिले आमजनताका लागि ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी सामान्य प्रश्नको जवाफ तयार परेर सो सामग्री सोमवार सार्वजनिक गरेको हो ।

प्रारम्भिक तथ्याङ्कले ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर रहेको देखाएको स्वास्थ्य समितिले जनाएको छ ।

डा. सापकोटाले विश्वभरका नेपालीहरुलाई ओमिक्रोनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नु भएको छ । उहाँले भाइरस लाग्न नदिन सबै रोकथामका उपायहरू जारी राख्नु पर्ने बताउनु भयो ।

संघद्धारा प्रकाशित स्वास्थ्य जनचेतना सामग्रीमा ओमिक्रोनको प्रभाव, बच्ने उपाए, बुस्टर डोज लगायतको बारेमा जानकारी लिइएको छ ।


प्रकाशित | २० पुष २०७८, मंगलवार २०:५९