एनआरएनए, नयाँ नेतृत्वको सवाल र अबको चुनौती

सोनाम लामा

विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनएमा यतिखेर नयाँ नेतृत्वको बहश चलीरहेको छ । आगामी अक्टोवरमा हुन गइरहेको नवौ महाधिवेशनमा कस्तो नेतृत्व चयन गर्ने ? भन्ने विषयमा सबैतीर बहश चलीरहेको छ । यतिखेर विशेष गरि इटालीको रोममा विश्वभरीका गैर आवासीय नेपालीहरु भेला भएका छन् । एनआरएनए युरोप क्षेत्रको क्षेत्रीय बैठकको अवसरमा नयाँ नेतृत्वको सवालमा केन्द्रित भएर विभिन्न छलफल भएका छन् । मलाई पनि विश्वभरीबाट साथीहरुले एनआरएनमा तपाई कुन भूमिकामा आउने ? भनेर चासो र चिन्ता ब्यक्त गरिरहनु भएको छ । साथीहरुले तपाई जस्तो ब्यक्तीको एनआरएनमा अभाव छ, तपाई आउनु पर्यो भनीरहनु भएको छ । यथपी मैले अहिलेसम्म यस विषयमा कुनै निर्णयमा भने पुगेको छैन ।

गैर आवासीय नेपाली संघ गैर राजनीतिक र गैर नाफामूलक संस्था हो । मेरो ब्यक्तीगत विचारमा भन्नुपर्दा एनआरएनएमा आउनु अर्थात कुनै पद हासिल गर्नु ठूलो कुरा होइन । ठूलो कुरा जिम्मेवारीमा आइसकेपछि जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सकिन्छ कि सकिंदैन भन्ने मुख्य सवाल हो । त्यसो त अहिले एनआरएनए भद्रगोल अवस्थामा पुगेको गुनासो ब्यापक सुनीएको छ । जस्तो अघिल्लो शेष घले दाईको पालामा शूरु भएका प्रोजेक्ट नै पूरा हुन नसकेको, वेवारिसे बनाइएको भन्दै गुनासो सुनीएको छ । यतिखेर नयाँ नेतृत्वको बहश चलीरहँदा एनआरएन भवन, लाप्राक प्रोजेक्टलाई जतिसक्दो चाँडो पूरा गर्नुपर्ने चुनौती तपाई हामी सामू खडा भएको छ । साथै एनआरएनए भवनको संरचना, लाप्राकको संरचना परिवर्तन भइरहँदा बढेको लागत कहाँबाट के कसरी परिपूर्ति गर्ने ? एनआरएनलाई गतीशील बनाउन आवशयक पर्ने आर्थिक कोष कस्तो अवस्थामा छ ? भनेर सबैले चिन्ता र चासो ब्यक्त गरिरहनु भएको छ ।

अर्को कुरा, गैर आवासीय नेपाली संघ र सरकारबीच १० अर्बको लगानी भित्र्याउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । त्यो लगानी कहाँबाट कसरी भित्र्याउने ? त्यो भित्र्याउनको लागि विश्वभरिका गैर आवासीय नेपालीहरुलाई के कसरी विश्वास दिलाउने ? त्यसका लागि कस्ता ब्यक्ती नेतृत्व तहमा ल्याउने ? साथै भिजीट नेपाल २०२० सफल बनाउन एनआरएनको के कस्तो योगदान रहने ? त्यसका लागि कस्ता ब्यक्तीलाई छानेर ल्याउने ? भन्ने विषयमा पनि गम्भिर भएर सोच्नुपर्ने देखिन्छ ।

त्यस्तै, गैर आवासीय नेपाली संघले स्थापनाकालदेखि उठाउँदै आएको एनआरएन नागरिकताको निरन्तरताको विषय पनि निकै जटिल छ । नेपालको संविधानमा गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकारबाहेकको गैर आवासीय नेपाली नागरिकता दिने स्पष्ट उल्लेख भइरहँदा पनि संसदको राज्य ब्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरुले बेला बेलामा उठाउने गरेका कतीपय गम्भिर टिप्पणी र प्रश्नले प्राप्त अधिकार गुम्ने हो कि भन्ने खतरा पनि त्यतीकै देखिन्छ । एनआरएनको मुख्य एजेन्डा रहेको नागरिकताको निरन्तरताको लागि कार्यान्वयन चरणमा प्रयाउन के कस्तो पहल गर्ने ? त्यसका लागि कस्ता ब्यक्ती नेतृत्व तहमा ल्याउने ? र त्यो अधिकार कसरी कार्यान्वयन तहमा पुर्याउने ? भन्नेतर्फ बहश हुनुपर्छ ।

यी माथी उल्लेख गरिएका एनआरएनका मुद्धालाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । राम्रो भनेको भिजन भएको, एनआरनएनलाई बुझेको, अनुभवी, संस्था र राज्यलाई योगदान गर्न सक्ने, काम गर्न सक्ने तथा बोलीमा भन्दा कामलाई बढी प्राथमिकता दिने भन्ने हो । तर पदको लागि विभिन्न पार्टीगत प्यानल बनाएर, पैसा खर्च गरेर अर्थात भोट किनेर आउँने जो कोही ब्यक्तीले चुनाव जिते पनि केहि काम गर्न सक्दैन भन्ने कुराको पुष्टि भइसकेको छ ।

संस्थालाई प्लेट बनाएर प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका नेतासम्म पहुँच बढाउँदै आफनो ब्यक्तीगत स्वार्थ पूर्ति गर्नु वा विभिन्न देशमा घुम्नु मात्र नेतृत्वको काम होइन । यतिकै लागि मात्र हो भने नेतृत्वमा हानाथाप गर्नु आवश्यक देखिन्न् । नेतृत्वमा जो आए पनि राम्रो, असल, संस्थालाई अगाडि बढाउन सक्ने, सक्षम, इमानदार र काम गर्न सक्ने ब्यक्ती आउनुपर्छ । एनआरएनमा योगदान नगरेको ब्यक्तीबाट संस्थाको संस्थागत विकासको कल्पना पनि गर्न सकिन्न् । संस्थामा लोभी, स्वार्थीभन्दा संस्था, देश र समाजको लागि केहि योगदान गर्नुपर्छ भन्ने भावनाले ओतपोत ब्यक्तीको खाँचो मशसुस छ । ठूलो कुरा नेतृत्वमा गएपछि के गर्ने भन्ने स्पष्ट भिजन हुनुपर्छ । अर्को कुरा संस्थालाई सही सदुप्रयोग गरेर प्रवासमा बस्ने गैर आवासीय नेपालीको हितमा बढी केन्द्रित हुनुपर्छ । नेतृत्वमा आउने इच्छा जाहेर गरिरहँदा अहिलेसम्म संस्थाको लागि के कती योगदान गरियो? भन्ने कुरा महत्वपूर्ण हो भन्ने लाग्छ । कसैको स्वार्थ पूरा गर्नको लागि एनआरनएन संस्था एउटा प्लेट बन्न सक्दैन र बन्नु हुँदैन । संस्थामा काम गरेको अनुभव, क्षमता र भिजनलाई आधार बनाएर अबको नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो विचार हो ।

साथै अन्तमा एनआरएनएमा शुरु गरिएको विज्ञ सम्मेलन, नेपाल सरकारसँग मिलेर गर्न लागिएको १० अर्ब लगानी, एनआरएन नागरिकताको निरन्तरता जस्ता मुद्धालाई कार्यान्वयन गर्न सक्ने सक्षम ब्यक्तीलाई अबको नेतृत्व तहमा ल्याउनुपर्छ । त्यसका लागि नेतृत्वालाई सहयोग गर्ने टिम पनि नेतृत्व जस्तै इमानदार, सक्षम र बलियो हुनुपर्छ । अहिले संस्था निकै जटिल अवस्थामा रहीरहँदा सिन्डिकेट लगाएर अर्थात आआफना मान्छे मात्र च्यापेर संस्थामा ल्याउने कार्य गरिएमा चुनाव त जितीएला तर त्यसले संस्थाको दिगो र संस्थागत विकास हुन सक्दैन भन्नेतर्फ सचेत हुनैपर्छ । पदमा बसेर मात्र समाजसेवा गर्न सकिन्छ भन्ने होइन । एनआरएनएमा केहि लिन पाइन्छ कि भनेर आउने नभई यहाँ त्याग, तपस्या र योगदान गर्न आउने हो भन्ने कुरा सबैले बुझन पर्छ । त्यसैले विश्वभरीबाट सबै साथीहरुले एनआरएनमा आएर काम गर्नुपर्छ भनीरहँदा संस्थामा हावी भइरहेको यी र यस्ता विकृति रोक्न सकिए तथा सबै पक्षबाट राम्रा राम्रा ब्यक्ती ल्याएर राम्रोे टिम बने मात्र एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने मनसाय बनाएको सबैमा स्पष्ट पार्न चाहान्छु ।

एनआरएनए अभियन्ता सोनाम लामासँग विश्व सन्देशका प्रधानसम्पादक किरण बुढाथोकीले गर्नुभएको कुराकानीमा आधारित


प्रकाशित | १९ श्रावण २०७६, आईतवार १५:०१