राप्रपा नेपालको अध्यक्षमा कमल थापा, अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ मूल एजेण्डा हुने

काठमाडौं – कमल थापा ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुनुभएको थापा राप्रपा नेपालको अध्यक्ष बन्नु भएको हो ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो ।

थापाले आज आइतवार विज्ञप्ति जारी गर्दै केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताउनुभएको छ । थापाले अबदेखि हिन्दुराष्ट्र, सुशासन र समृद्धि मुल एजेन्डा हुने पनि बताउनु भएको छ । 

‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ ​उहाँले विज्ञप्तिमा भन्नु भएको छ ।

राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाको जिकिर छ । ‘नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो,’ उहाँले भन्नु भएको छ, ‘तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ । पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा प¥यौ । गम्भीर राजनीतिक भुलका शृङ्खलाहरु सुरु भए । असहज र गलत प्रवृतिहरुसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।’ ​


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १५:४१