देशका विभिन्न स्थानमा बाढी पहिरो, सातको मृत्यु, ठाउँठाउँको सडक अवरुद्ध, दर्जनौ बस्ती डुवानमा

काठमाडौँ : लगातार परिररहेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो गएको छ । अहिलेसम्म पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी सात जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१, गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको छ ।

त्यस्तै, गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलमा सोमबार बिहान बाख्राको गोठमाथि पहिरो जाँदा ४० वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । पहिरोबाट बाख्रा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दार्चुला जिल्ला, नौघडा गाउँपालिका–६ स्थित एक बस्तीमाथि पहिरो खस्दा आमा मानमती ठगुन्ना र ६ वर्षीया छोरी आरती गरी दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । पहिरोबाट प्राथमिक विद्यालयसहित चार घरमा क्षति पुगेको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । गएराति पहिरोले घर बगाउँदा २५ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २२ वर्षकी सम्झना खाँण र १८ महिनाकी छोरी अन्जिताको ज्यान गएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो ।

पहिरो जाँदा घर बाहिर रहेका बुवा, आमा र भाइ भने सुरक्षित रहेको पनि थापाले बताउनुभयो । एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सामुदायिक भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

पहिरोका कारण काठमाडौँ–चितवन जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको चार किलो मिटरस्थित कालीखोलामा पहिरो गएको छ । चितवन–धादिङको सीमा मौवाखोलाको पुल नै बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । गजुरी फुर्केखोला, बेनीघाट रोराङ, बाँदरेभीर र जोगीमारा लगायतका स्थानमा पहिरो गएको छ ।

उता पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध छ । पहिरो खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डोजर र स्काभेटरसहित खटिएको छ । प्रहरीका अनुसार दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ पहिरो जाँदा पूर्णरूपमा अवरुद्ध भएको छ ।

बाजुराको बुढीगङ्गा–२ स्थित घट्टेखोलाको २५ मिटर लामो पक्की पुल बाढीले बगाएको छ । पुल बगाएपछि अछाम साँफेबगर–बाजुरा–मार्तडी सडक अवरुद्ध छ ।

सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–११ साल्मेस्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोस्ट दोर्पुबाट खटिएको प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जनाइएको छ । पाँचथर, फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीरमा पहिरो जाँदा मेची राजमार्गको सडक अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मनाङको नासो गाउँपालिका–१, म्यार्दी भीरस्थित बेँसीसहर–चामे सडकखण्डमा ढुङ्गा झरेर सोमबार बिहानदेखि सडकमा अवरोध भएको छ । गोरखा सातकिलो र आरूघाट सडकखण्ड अवरुद्ध छ । प्रहरी चौकी कोखेआहालेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

गत जेठ १ गतेदेखि साउन ४ गतेसम्म बाढी पहिरो र डुबानमा परी ११० जनाले ज्यान गुमाएका छन् भने ५० जना अझै बेपत्ता छन् । ५० जना घाइते र करिब दुई सय परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ ।


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार ०९:१४