राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं : प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।

केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका र हुने उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकाले उक्त प्रस्ताव पेश गरिएको हो ।

नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृषेशचन्द्र लाल र काँग्रेसका बद्रीप्रसाद पाण्डे रहनुभएको छ । उहाँहरुले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६६ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिनुभएको हो ।

उहाँहरुले अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकाले सो प्रस्तावमाथि छलफल गर्नु परेको सूचनामा उल्लेख गर्नुभएको छ ।


प्रकाशित | २ श्रावण २०७६, बिहीबार १२:०९