लाप्राकका ५७३ घरधूरीलाई एक करोड बढी पर्ने मिटर निशुल्क उपलब्ध गराउन विद्युत प्राधिकरण तयार

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले लाप्राकका ५७३ घरधूरीलाई एक करोड बढी पर्ने मिटर निशुल्क उपलब्ध गराउने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा सो परियोजनाका संयोजक सोनाम लामा नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल विधुत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङ्गसंग भेटवार्ता गर्दै लाप्राक, गुप्सीपाखामा निर्माण थालनी गरिएको लाप्राक बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै यसलाई आवश्यक विद्युतको आपूर्ती राष्ट्रिय विधुत प्रसारण लाइनबाट द्रुत गतिमा गरिदिनका लागि आग्रह गर्नुभएको थियो ।

साथै उपाध्यक्ष सोनाम लामाले लाप्राकमा द्रुत गतिमा विधुतिकरण गरिदिनुका साथै ५७३ घरहरुकै लागि निशुल्क मिटर जडान गरी बस्ती भित्र भूमिगत रुपमा विधुत वितरण गरी दिन र यसको लागि लाभग्राहीहरु आवश्यक जनश्रमदान गर्न तयार रहेको अवगत गराउनुभएको थियो ।

प्रबन्धक निर्देशक कुलमान घिसिङ्गले आगामी तीन महिना भित्र राष्ट्रिय विधुत प्रसारण लाइनबाट लाप्राकमा विधुत आपूर्ति गरिसक्ने तर भूमिगत गर्दा खर्च दश गुणा बढी लाग्ने भएकोले त्यसो नगरी बस्ती भित्र नाङ्गो तारको सट्टा इन्सुलेटर भएको तार प्रयोग गरी व्यवस्थित रुपमा विधुत वितरण गरिने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई समेत निर्देशन दिनुभयो ।

Image may contain: 3 people, including Sonam Lama, people standing

उहाँले ५७३ घरधूरीहरुलाई निशुल्क मिटर उपलब्ध गराउँदा खर्च एक करोड भन्दा माथि लाग्ने भएता पनि यो एक राष्ट्रिय गौरवको आयोजना भएकोले नेपाल विधुत प्राधिकरण निशुल्क मिटर उपलब्ध गराउन तयार रहेको र यस कार्य अघि बढाउनको लागि धार्चे गाउँपालिकालाई नेपाल विधुत प्राधिकरणको गोरखा जिल्ला कार्यालयमा निवेदन दिन समेत सुझाव दिनुभयो ।

सो अवसरमा परियोजना निर्माण कार्यदलका सहसंयोजक श्याम तामाङ्ग तथा सचिवालयका कार्यकारी निर्देशक राजेश राणाको पनि सहभागिता रहेको थियो ।

लाप्राक प्रोजेक्टको निर्माण कार्य तीब्र गतिमा

त्यस्तै, गैर आवासीय नेपाली संघले लाप्राक प्रोजेक्ट सम्पन्न गर्न उपाध्यक्ष सोनाम लामालाई संयोजकको जिम्मेवारी प्रदान गरेसँगै निर्माण कार्यले तीब्रता पाएको छ । उपाध्यक्ष लामालाई प्रोजेक्ट सम्पन्न गर्ने गरि संयोजकको जिम्मेवारी प्रदान गरिएसँगै लकडाउनकाबीच पनि प्रोजेक्टको बाँकि काम शूरु गर्दै निर्माण कार्यलाई तीब्रता दिइएको हो ।

सो प्रोजेक्ट शूरु गर्दादेखि प्रोजेक्टको लागि महत्वपूर्ण योगदान गर्दै आउनुभएको उपाध्यक्ष लामाले बाँकि काम छिटो भन्दा छिटो सक्न लकडाउनकाबीच पनि जोखिम मोलेरै लाप्राक पुग्दै परियोजनालाई ३ महिना भित्र सक्ने सहमति गाउँपलिकासँग गर्नुभएको थियो । अहिले स्थानीयलाई नै काममा लगाएपछि निर्माण कार्यको बाँकि कामले तीब्रता पाएको हो ।

उपाध्यक्ष लामाले आफूले दैनीक सम्पर्कमा रही निर्माण कार्यलाई तीब्रता दिइरहेको र तोकिएको समयमा सम्पन्न गर्ने गरि अगाडि बढिरहेको बताउनुभयो । निर्माण कार्यलाई तीब्रता दिएसँगै विद्युत लाईन जोड्नको लागि समेत प्राधिकरण तयार भएपछि अब छिटै लाप्राक बस्ती हस्तान्तरण हुने देखिएको छ । कुरा भन्दा बढी काममा तल्लीन उपाध्यक्ष लामाले प्रोजेक्ट शूरु गर्दाको दुख आफूले नबिर्सेकाले निर्माण कार्य जतिसक्दो कसरी छिटो सक्ने भन्ने कार्यमा आफनो सम्पूर्ण ध्यान केन्द्रित भएको समेत बताउनुभयो ।

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको लाप्राक गाउँमा एनआरएनएले सञ्चालन गरेको सो पोजेक्ट २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, एनआरएनए तत्कालीन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । वैशाखमा सम्झौता भए पनि वस्ती निर्माणको शिलान्याश भने २०७३ माघमा भएको थियो। बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिएको थियो ।

गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो । गुरुयोजनामा उल्लेख गरिए अनुसार नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनेका छन् ।


प्रकाशित | २ असार २०७७, मंगलवार १७:५०