१० अर्ब लगानी भित्र्याउन प्रक्रिया अघि बढिसक्यो : कुमार पन्त-अध्यक्ष, एनआरएनए

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० अर्ब लगानी भित्र्याउने प्रतिवद्धता अनुसार प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ । अध्यक्ष पन्तले भन्नुभएको छ, ‘१० अर्बको कोषमा सरकारले पनि ५० करोड लगानी गर्ने भनेको थियो । अहिले त्यो कसले गर्ने भनेर विभिन्न मन्त्रालयमा फाइल घुमिरहेको छ । हामी छिटो यसलाई फाइनल गर्दिनुस् भनेर अर्थ र उद्योगमा भनेका छौं ।’

अध्यक्ष पन्तले थप्दै भन्नुभयो, ‘यो प्रक्रिया टुंग्याइदिएपछि हामी फण्ड संकलन गर्न लाग्छौं । त्यसमा मैले अर्थमन्त्री र उद्योगमन्त्री र सचिवज्यूहरुसँग पनि कुरा गरेको छु । हामी प्रतिवद्धताअनुरुप १० अर्ब रुपैयाँको लगानी भित्र्याउन सक्छौं । ठूला आयोजनामै लगानी गर्ने हो ।’

‘मुलुकमा पुँजी ल्याउने कुरामा त गैरआवासीय नेपालीहरु एकदमै सक्षम भयौं । ठूला ठूला अस्पताल, ठूला होटल, बैंक र हाइड्रोपावरदेखि पर्यटनमा ठूलो लगानी गैरआवासीय नेपालीको छ । नेपालमा लाखौं रोजगारी पनि सिर्जना गरिराखेको छ’, पन्तले  भन्नुभयो ।

‘यति हुँदाहुँदै पनि मुलुकको अर्थतन्त्रका कारणले दैनिक रुपमा युवाहरु विदेशिने क्रम रोकिएको छैन । गैरआवासीय नेपाली संघ शुरुमा स्थापना हुँदा पनि हामीले के भनेका थियौं भने हामीले विदेशमा हुँदा सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा ल्याउँछौं भनेका थियौं’, अध्यक्ष पन्तले अनलाईन खवरसँगको कुराकानीमा भन्नुभयो ।

‘यो पुँजी भन्दा पनि ठूलो कुरा प्रविधि रहेछ भन्ने चासो एनआरएनले लिएको छ । डेढ वर्षअघि हामीले जुन सम्मेलन गरेका थियौं, त्यो निकै सफल भयो । झण्डै पाँच सय हाम्रा गैरआवासीय नेपाली साथीहरु त्यसमा सहभागी हुनुभएको थियो । उहाँहरुले यो अभियानमार्फत आफूले सिकेको ज्ञान, सीप र प्रविधि मुलुकको समृद्धिका निम्ति हस्तान्तरण गर्न चाहान्नुहुन्छ । यसमा परराष्ट्र मन्त्रालयले पनि विशेष चासो देखाएको छ’,  पन्तले भन्नुभएको छ, ‘अस्तिमात्रै पनि परराष्ट्र मन्त्रालय र योजना आयोगसँग कुरा गरिसकेपछि फेरि ज्ञान सम्मेलन गर्नुपर्‍यो भन्ने कुरा आएको छ । हामीले पाएको ज्ञान, सीपलाई नेपालमा लगानी गर्न चाहान्छौं ।’


प्रकाशित | १४ माघ २०७६, मंगलवार १७:०६