गैर आवासीय नेपाली संघको म्याद ६ महिना थप्ने तयारी

काठमाडौं  – गैर आवासीय नेपाली संघ (एनआरएनए) को म्याद ६ महिना थप्ने तयारी थालीएको छ । वर्तमान कार्यसमितिको म्याद सकिन दुई साता पनि बाँकि नरहँदा यसको म्याद ६ महिना थप्ने तयारी भइरहेको हो । वर्तमान कार्यसमिति (२०१९-२०२१) को म्याद यही अक्टोवर १८ तारिखमा सकिदैंछ ।

वर्तमान कार्यसमितिले यसअघि १० अक्टोवरका लागि निर्वाचन गर्ने तयारी गरे पनि परराष्ट्र मन्त्रालयमा डेलिगेट्स छनौटमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गरिएको थियो ।

निर्वाचन सम्बन्धी कार्यतालीका स्थगन भएपछि निर्वाचन समितिले २० तारिखका लागि निर्वाचन तोकेको थियो । तर हालसम्म परराष्ट्र मन्त्रालयले निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउन अनुमति नदिएपछि वर्तमान कार्यसमितिको म्याद ६ महिना थप्ने तयारी भएको हो । एनआरएनएको विधानमा आइसिसीले आवश्यक ठानेमा बढीमा ६ महिनाका लागि म्याद थप्न सकिने ब्यवस्था छ ।

स्रोतका अनुसार वर्तमान कार्यसमितिको म्याद १८ तारिखमा सकिने भएपछि २० तारिखमा निर्वाचन गर्नका लागि भए पनि तीन दिन म्याद थप्नुपर्छ । तर विधानले ६ महिना म्याद थप्ने अधिकार दिएकाले सो अवधिसम्म म्याद थपेर निर्वाचन भने सकभर तोकिएकै समयमा नभए पनि अक्टोवरभित्रै गर्ने तयारी छ । तत्काल आइसिसीको बैठक बोलाएर म्याद थप सम्बन्धी प्रस्ताव पेश गरिने र यसको अन्तिम निर्णय बैठकले गर्ने जनाइएको छ । 

त्यस्तै, संघले निर्वाचन समितिलाई बुधबार निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली बुझाएको छ । करिव ३६ सय प्रतिनिधिको नामावली निर्वाचन समितिलाई बुझाइएको हो ।

स्रोतका अनुसार विधानमा भएको बाधा अड्काउ फुकाएर एनसिसीले विधान अनुसार पठाएको नामावलीलाई समेटेर प्रतिनिधिको नामावली बुझाइएको छ । निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली पठाएसँगै निर्वाचन समितिले छिट्टै निर्वाचन सम्बन्धी कार्यतालीका प्रकाशन गर्ने जनाइएको छ ।

परराष्ट्रको अनुरोध मात्र भएकाले त्यसलाई सम्मान गर्दै प्रतिनिधिहरुको नामावली पठाइएको आइएसका एक पदाधिकारीले विश्व सन्देशलाई जानकारी दिए । उनका अनुसार परराष्ट्रले महिनौसम्म अनिर्णयको बन्दी बनाएकाले संस्थालाई निकास दिन सो नामावली पठाएर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको हो ।

उता अर्को पक्षले भने परराष्ट्रको निर्देशनलाई वेवास्था गरि एकतर्फी रुपमा निर्वाचन सम्बन्धी कार्यतालीका सार्वजनीक गरिए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ ।


प्रकाशित | २० आश्विन २०७८, बुधबार २२:४५