विश्वकप क्रिकेट: पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ । लर्ड्समा आइतबार हुने खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

लर्ड्स क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली आफ्नो खराब लयलाई पूर्णविराम लगाउने योजनामा हुनेछ । दुवै टोली विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछ । विश्वकपमा खराब प्रदर्शन गरिरहेको पाकिस्तानले ५ खेलमा मात्र ३ अंक जोडेको छ । पाकिस्तान पुछारबाट दोस्रो स्थानमा रहेको छ । पाकिस्तानले ३ खेलमा हार व्यहोर्दा एक जित र वर्षाले प्रभावित एक खेलमा एक अंक बाडेको छ ।

विश्वकपको छैटौं खेलमा भने पाकिस्तान जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । दक्षिण अफ्रिकालाई हराएर पाकिस्तान शीर्ष चारको यात्रा कायम राख्न चाहन्छ । यता, दक्षिण अफ्रीका पनि आफ्नो खराब लयलाई अन्त्य गर्न चाहन्छ । ६ खेलबाट ४ हार व्यहोरेको दक्षिण अफ्रिकाको पनि ३ अंक रहेको छ ।

तर, पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका अंक तालिका सुधार गर्ने प्रयास गर्नेछ । दुईबीचको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिका बलियो देखिएको छ । जसमा दक्षिण अफ्रिकाले ३ खेलमा जित निकालेको छ भने पाकिस्तानले दुई खेल जितेको छ । दुवै टोलीले विश्वकप अघिको एकदिवसीय सिरिजमा प्रतिस्पर्धा गरेका थिए । जुन सिरिज दक्षिण अफ्रिकामा भएको थियो ।


प्रकाशित | ८ असार २०७६, आईतवार १०:२२