मेस्सीमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना

एजेन्सी :अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमाथि लामो प्रतिबन्ध लाग्ने खतरा बढेको छ । कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि चिली र अर्जेन्टिनाबीच भएको खेल दौरान रातो कार्ड खाएपछि मेस्सीले खेलपछि मिडियासँग बोल्दै महासंघको कडा आलोचना गरेका थिए ।

चिलियन खेलाडी ग्यारी मेडेलसँग धकेला धकेलपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।सो खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराको थियो ।

जितपछि मेडलसमेत लिन अस्वीकार गरेका उनले ‘दक्षिण अमेरिकी फुटबल महासँग भ्रष्ट संस्था भएको’ आरोप लगाउँदै आफू भ्रष्टचारको साक्षी नबस्ने बताएका थिए ।

सेमिफाइनलमा अर्जेन्टिना ब्रालिजसँग २–० ले हार्दा पनि मेस्सीले  रेफ्रीले ब्राजिललाई जिताउन सबै सेटिङ गरिएको’ भन्दै रेफ्रीमाथि गम्भिर आरोप लगायका थिए ।

मेस्सीको अभिव्यक्तिपछि दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीको अभिव्यक्तिमाथि गम्भीरतापूर्वक छानबिन थाल्ने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाहरु जनाएका छन् ।

यदि मेस्सीमाथि महासंघले छानबिन गरेको अवस्थामा र उनी दोषी ठहर भए मेस्सीमाथि दुई वर्षसम्म अन्तर्राष्ट्रिय करिअरमा प्रतिबन्ध लाग्नेछ र जरिबाना समेत हुनेछ ।

दुई वर्षको प्रतिबन्धमा परे उनले सन् २०२० मा आयोजना हुने कोपा अमेरिका गुमाउनेछन् । त्यसैगरी, सन् २०२२ मा हुने विश्वकपका छनौट खेलसमेत मेस्सीले खेल्न पाउनेछैनन् ।


प्रकाशित | २३ असार २०७६, सोमबार १०:१६