सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका

प्युठान : जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए ।

‘३० एमपुल इन्जेक्सनको म्याद नाघेको थियो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकामा एक महिना स्टोर भएछ ।’ गाउँपालिकाले समयमै नपठाउँदा औषधिको म्याद नाघेको साहले बताए ।

म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाले एक–अर्कालाई दोषारोपण गरेका छन् । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले स्थानीय तहले ढुवानीमा ढिलाइ गरेका कारण औषधिको म्याद गुज्रिएको बताए ।

‘प्रदेश तथा केन्द्रबाट आएका औषधि स्वास्थ्य चौकीहरूको मागअनुसार हामीले स्थानीय तहहरूमा पठाउने गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहमा गएका औषधि मातहतका स्वास्थ्य चौकीमा वितरण गर्न पालिकाहरूले नै ढुवानी गर्ने व्यवस्था छ । पालिकाहरूले समयमै ढुवानी नगर्दा औषधिको म्याद सकिने अवस्था आएको हुन सक्छ ।’ कम्तीमा १८ महिना म्याद भएको औषधि मात्र खरिद गर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सागर रिजालले लेखेका छन् ।


प्रकाशित | ८ असार २०७६, आईतवार ०९:४६