सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई दियो विशेष प्राथमिकता, नगर अस्पतालका लागि साढे नौ करोड बढी बजेट

भक्तपुर: सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदैं बजेटको ब्यवस्था गरिएको हो ।

बजेटमा सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न वडा नं ८ जगातीमा रहेको सूर्यविनायक नगर अस्पताल संचालन तथा व्यवस्थापनको लागि रु.९ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ भने नगरपालिका क्षेत्र भित्रका सबै स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री एवं उपकरणहरुको समुचित प्रबन्धको लागि आवश्यक बजेट छुट्याइएको छ ।

“स्वस्थ नगर हामी सबैको रहर”लाई साकार पार्न घुम्ति शिविर मार्फत अभिमुखीकरण, विशेषज्ञ सेवा, पोषण सेवा, प्रयोगशाला सेवा र निःशुल्क औषधी वितरण लगायतका कार्यक्रमलाई नियमित र प्रभावकारी ढङ्गबाट संचालन तथा नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने १६ वर्ष मुनि उमेर समूहका क्यान्सर बिरामीको उपचारको लागि नगरपालिकाको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ ।

आयुर्वेद स्वास्थ्य सेवालाई प्रवद्र्धन, गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क क्याल्सियम चक्की वितरण, स्वास्थ्य संस्थाहरुको सुदृढीकरण र नगरक्षेत्रभित्रको स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई पोषण सुविधावापत नेपाल सरकारले दिने रकममा शत प्रतिशत थप रकम नगरपालिकाले उपलब्ध गराउन पर्याप्त बजेट व्यवस्था गरिएको छ । नवजात शिशुको पोषण स्वास्थ्यलाई मध्यजनर गरी नगर स्तरीय स्वस्थ बच्चा प्रतियोगिता संचालन गर्न बजेट व्यवस्था गरिएको छ ।

स्वयंसेविकाहरुको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक मापदण्ड निर्माण गरी गोल्डेन हेण्डसेक र प्रोत्साहन कार्यक्रमका लािग आवश्यक बजेट विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रको लागि नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु. ११ करोड ५६ लाख ५० हजार र संघ सशर्त तर्फ रु. ५ करोड ८० लाख प्रदेश सर्शत रु.४९ लाख ८० हजार गरी कूल रु. १७ करोड ८६ लाख ३० हजार विनियोजन गरिएको छ ।

आर्थिक अभावका कारण कुनै पनि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट बञ्चित हुन नपरोस भन्ने हेतुले स्वस्थ नगर निर्माणको अभियानलाई सार्थक तुल्याउन नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट नगरबासीले निःशुल्क रुपमा पाउने विभिन्न ९८ प्रकारका औषधीहरुको सहज उपलब्धताको व्यवस्था मिलाइनुको साथै नगरपालिकाले निःशुल्क उपलब्ध गराएका औषधी तथा अन्य सेवाहरुको विवरण सार्वजनिक गरिने उल्लेख छ ।

सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार, जनशक्ति, प्रविधि तथा उपकरण र कार्यरत जनशक्तिको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने, “जीवनको भौतिक गुणस्तर सुचकांकको आधार, स्वास्थ्य बिमामा आबद्ध गराउने सूर्यविनायक नगरको रहर” भन्ने अभियानका साथ आधारभूत स्वास्थ्य सेवामा आम नगरवासीको सुलभ र सहज पहुँचलाई उच्च प्राथमिकतामा राखी स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक बनाइने तथा नगर स्वास्थ्य बिमा कार्यक्रम कार्यविधि अनुसार सबै परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम वापत लाग्ने खर्च मध्ये रु. १००० नगरपालिकाले व्यहोर्ने व्यवस्थालाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

स्वस्थ नगर हामी सबैको रहर” को ध्येय पूरा गर्न मानव स्वास्थ्य जोखिम न्यूनीकरणका निम्ति ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविरका साथै विशेषज्ञ घुम्ति शिविर मार्फत स्वास्थ्य उपचार सेवा, प्रयोगशाला सेवा र निःशुल्क औषधी वितरण तथा नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न अभिमुखीकरण लगायतका कार्यक्रम सञ्चालन गर्ने, साथै विद्यालय स्वास्थ्य सेवा कार्यक्रम मार्फत सामुदायिक तथा संस्थगत विद्यालयका छात्र, छात्राहरुलाई आकस्मिक महामारी,सर्ने तथा नसर्ने रोग सम्बन्धी सूचनामूलक श्रब्यदृश्य सामाग्री प्रसारण गरी व्यवहारमा परिवर्तन गर्न प्रेरित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मानव स्वास्थ्यमा गरेको खर्चलाई भविष्यमा लगानीको रुपमा प्रतिफल दिनेगरी नगर क्षेत्र भित्रका २ बर्ष सम्मका बालबालिकामा पोषण स्वास्थ्य सूचकमा सुधार गर्ने उद्देश्यले वडा स्तरीय स्वस्थ बच्चा प्रतिस्पर्धा गराई उचित प्रोत्साहन गर्नुका साथै बैशाख महिनालाई पूर्ण खोप सुनिश्चित महिनाको रुपमा मनाउने गरी समुदायस्तरमा कार्यक्रम संचालन गर्ने, स्वास्थ्य संस्था र अस्पतालबाट प्रदान गर्दै आएको नियमित खोपलाई ब्यवस्थित, गुणस्तरीय र सहज गराउन सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम फ्रिजको व्यवस्थापन गरिने र स्वास्थ्य चौकीको ल्याव सेवालाई थप विस्तार एवं सुदृढीकरण गर्दै लगिने पनि उल्लेख छ ।

त्यस्तै, समुदायमा प्रतिकारात्मक स्वास्थ्य सेवामा उल्लेख्य योगदान पुुु¥याउदै आएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवालाई थप प्रभावकारी बनाइने, सूर्यविनायक नगरपालिका वडा नं २, ३ र ६ का स्वास्थ्य चौकीहरुमा ल्याव सहतिको स्वास्थ्य सेवा उपलब्ध गराइनुका साथै प्रसुती सेवा केन्द्रको स्थापना, एम्बुलेन्स लगायतका आधारभूत सेवाको व्यवस्था गर्ने, नगरबासीहरुका लागि निःशुल्क शव वाहन सेवा संचालन गर्ने, स्थानीय बालमैत्री नगर घोषणा कार्यक्रममा स्वास्थ्य अन्तर्गत उल्लेखित सूचक हासिल हुनेगरी सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरुलाई चरणबद्ध स्वास्थ्य जाँच एवं नवजात शिशुको स्वास्थ्य प्रवद्र्धनको लागि गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की वितरणलाई निरन्तरता दिने, नियमित सेवा लिने गर्भवती तथा सुत्केरी महिलालाई प्रोत्साहन प्याकेज सहित थप उत्प्रेरित गरिने भएको छ ।

त्यस्तैगरि, नगरपालिका अन्तर्गतका प्रत्येक स्वास्थ्य संस्थाबाट प्रवाह हुँदै आएका स्वास्थ्य गतिविधिहरुको चुस्त, दुरुस्त अभिलेख तथा बिद्युतीय प्रतिवेदन प्रणालीको विकास गरी स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र आपूर्ति व्यवस्थापन सूचना प्रणालीलाई थप सुदृढ गरिनेछ । कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिई सेवा प्रवाहको स्तरको मापन गरी उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र कर्मचारीलाई पुरस्कृत गरिने भएको छ ।

सूूर्यविनायक नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका निजी तथा साझेदारी औषधी पसल, पोलिक्लिनिक, नर्सिङ्ग होम, डेण्टल क्लिनिक, फिजियोथेरापी केन्द्र, प्रयोगशाला लगायतका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको तथ्याङ्क संकलन, दर्ता प्रक्रिया, नियमित अनुगमन एवं् मूल्याङ्कनलाई नगरपालिकाको स्वास्थ्य प्रणालीमा आबद्ध गराईनेछ । आयुर्वेदिक स्वास्थ्य सेवालाई थप विस्तार एवं व्यवस्थित गर्ने, आरोग्य सेवा केन्द्र संचालन, बिस्तार र आवश्यक औषधी, उपकरण व्यवस्थापनलाई निरन्तरता दिने, आर्थिक रुपले विपन्न परिवारका मृगौला प्रत्यारोपण, डायलाइसिस, क्यान्सर र मेरुदण्ड पक्षघात जस्ता बिरामीलार्ई आर्थिक सहायता प्रदान गर्ने, ज्येष्ठ नागरिक, अपाङ्ग तथा महिलाको स्वास्थ्य सुधार गर्न स्वास्थ्यकर्मी घरदैलो कार्यक्रम संचालन गर्ने र सूर्यविनायक नगर अस्पतालको क्षमता विकास एवं दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिने पनि नीति तथा कार्यक्रमा समेटीएको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख बासुदेव थापा र बजेट नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले प्रस्तुत गर्नु भएको थियो । नगरपालिकालको १४ औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको थियो ।


प्रकाशित | २० असार २०८०, बुधबार ०७:२८