पाँच करोड बिरुवा रोप्दै वन मन्त्रालय

काठमाडौं: वन तथा वातावरण मन्त्रालयले पाँच करोड बिरुवा रोप्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सहरी क्षेत्रसँगै विभिन्न ठाउँका खाली चौर, पर्ती जग्गा, नदी खोला किनार र जंगल क्षेत्रमा वृक्षरोपण गर्ने योजना बनाएको हो । उसले रूख काट्ने मात्र नभई रूख रोप्न प्रेरित गर्न ‘वृक्षरोपण अभियान’कै रूपमा यस वर्ष मनाउने योजना बनाएको छ ।

आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ का रूपमा मनाउने भएपछि बिरुवा रोप्ने अभियान देशैभर चलाइने भएको छ । सहरी क्षेत्रको प्रदूषणलाई मध्यनजर गर्दै समग्र हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण वर्षका रूपमा अभियान चलाइने मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले बताए । कुल पाँच करोड वृक्षरोपणमध्ये एक करोड ५० लाख फलफूल मात्र रोपिनेछ । ‘सहरी क्षेत्रमा फलफूलभन्दा हरियालीसँगै अक्सिजन धेरै दिने खालका रूख रोप्नेछौँ,’ ढुंगानाले भने, ‘खाली चौर, नदी खोला किनार, पर्ती जग्गा र जंगल क्षेत्रमा फलफूलसँगै अन्य बिरुवा रोप्छौँ ।’ बिरुवा छनोटबारे बजेट विनियोजनपछि टुंगो लाग्ने भएको छ । सरोकारवाला निकायसँग छलफल गरी कुन ठाउँमा कस्ता बिरुवा रोप्न मिल्छ, त्यसैअनुसार वृक्षरोपण गरिने ढुंगानाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनीकमा प्रकाशित छ ।

वन मन्त्रालयले वृक्षरोपणका लागि १५ करोड बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । ‘हामीले यो वर्षभरि पाँच करोड वृक्षरोपण गर्ने योजना बनाएका छौँ,’ ढुंगानाले भने, ‘वन तथा भूसंरक्षण विभागले एक करोड ५० लाख वृक्षरोपण गर्छ, अरू तीन करोड ५० लाख बिरुवा विभिन्न निकायले रोप्नेछन् ।’ वृक्षरोपणका लागि प्रदेश सरकार, स्थानीय सरकार, सामुदायिक वन महासंघ ९फेकोफन० निजी संघसंस्थालाई पनि आग्रह गरिने भएको छ । सरकारले एक रूख काट्दा २५ रूख रोप्ने नियम बनाएको थियो, तर अझै कार्यान्वयन हुन सकेको छैन ।

वृक्षरोपण गर्न सहरी क्षेत्रमा धेरै समस्या हुने गरेको मन्त्रालयका प्रवक्ता ढुंगानाले बताए । सहरी क्षेत्रमा पुलपुलेसा, बाटो बनाउँदा वृक्षरोपण गर्ने ठाउँ नराख्दा समस्या भएको हो । काठमाडौंलगायत विभिन्न सहरमा वृक्षरोपण नगर्दा धुलोधुवाँ र ध्वनि प्रदूषण बढ्दै गएको छ ।


प्रकाशित | ८ असार २०७६, आईतवार ०९:२२