पाँचथर हत्याकाण्ड प्रकरण: हत्या गरिएका बमबहादुर फियाकका ज्वाइँको शव झुण्डिएको अवस्थामा फेला

पाँचथर: जिल्लाको मिक्लाजुङ गाउँपालिका– ३ को आरुबोटेमा ९ जनाको विभत्स हत्या गरिएको घटनास्थल नजिकै एक जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवका अनुसार मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको हो । ९ जनाको विभत्स हत्या भएको घटना स्थलबाट झण्डै साढे एक घण्टाको दूरीमा माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

माखिम सोमबार राति विभत्स हत्या गरिएका बमबहादुर फियाकको ज्वाइँ रहेको पुष्टि भएको छ । अध्यक्ष माखिमका अनुसार मानबहादुर माखिम बमबहादुर फियाकका कान्छी छोरीका श्रीमान रहेको प्रहरीको भनाइ छ । झुण्डिएका व्यक्तिको हत्याकाण्डमा संलग्नता भए नभएको भने खुलेको छैन । सो हत्याकाण्डको विषयमा बुझन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १३:४६