एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण, बस सुदुर पश्चिमका सबै जिल्लाहरुमा आवश्यकता अनुसार सञ्चालन गरिने

काठमाडौं – गैर आवासीय नेपालीहरुको सहयोगमा सुदुर पश्चिम प्रदेशका लागि खरिद गरिएको एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ आज हस्तान्तरण गरिएको छ । धनगढीमा एक कार्यक्रमकाबीच बस हस्तान्तरण गरिएको हो ।

बस संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गर्नु भयो ।

हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी र शनिकुमार ओलीलगायत  एनआरएन अभियन्ताहरु सहभागि हुनुहुन्थ्यो ।

बसको कुल लागत ६० लाख हाराहारीमा भए पनि गैर आवासीय नेपालीहरुबाट ४८ लाख सहयोग संकलन भएको थियो । बाँकि रकम एनआरएनएको आइसिसीको खाताबाट पछि ब्यहोर्ने गरि खरिद गरिएको थियो ।

‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र अफ्रिकाबासी आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सह-संयोजक हुनुहुन्थ्यो ।

परियोजनाका लागि सुदुर पश्चिमेली समाज अन्तर्राष्ट्रिय समिती, सुदुर पश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदुर पश्चिम समाजहरु अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिती युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लव अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिती लगायतले सहयोग पुर्याएका थिए ।

मोबाइल ब्लड बस सुदुर पश्चिमका सबै जिल्लाहरुमा आबश्यकता अनुसार सञ्चालन गरिनेछ । आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको छ ।

तस्विरमा हस्तान्तरण कार्यक्रमका झलकहरु


प्रकाशित | ३ माघ २०७८, सोमबार १६:५१