जनकपुरमा सिलिन्डर ग्यास विस्फोटः तीन होटल जलेर नष्ट

जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण तीन वटा होटल जलेर नष्ट भएका छन । एक होटलमा आधा दर्जन भन्दा बढि सिलिन्डर विस्फोट हुँदा तीन होटेल जलेर पूर्ण रुपमा नष्ट भएका हुन । बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिन्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार, सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुर, महेन्द्रनगरबाट आएको दमकलको सहयोगले तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो । गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।  तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०९:२४