एनआरएनएको विवाद सल्ट्याउन सम्वाद शूरु

काठमाडौं – गैर आवासीय नेपाली संघले तोकिएको समयमा निर्वाचन गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग सम्वाद शूरु गरेको छ । संघले तोकिएको समयमा निर्वाचन गर्न सम्वाद शूरु गरेको हो ।

मन्त्रालयले तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएपछि संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशक राजेश राणा सम्मिलीत टोलीले मन्त्रालयका सहसचिव तथा एनआरएन डेस्क प्रमुख भरतराज रेग्मी सहितको टोलीसँग छलफल गरेको हो ।

सो छलफलमा एनआरएनभित्र देखिएको विवाद कसरी टुंग्याउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष पन्तले तोकिएको समयमा निर्वाचन गर्ने गरि संघमा देखिएको विवाद सुल्झाउने कार्यमा सहजीकरण गरिदिन आग्रह गर्नु भएको थियो ।

उता मन्त्रालयका सहसचिव रेग्मीले असन्तुष्ट समूहसँग सहमती गरेर आउँन र सबैलाई एकै ठाउँमा उभ्याउन आग्रह गर्नु भएको थियो । साथै सहमति नभए छानबीन समितिले प्रतिवेदन तयार पारेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाइने पनि रेग्मीले बताउनु भयो ।

अध्यक्ष पन्तले मन्त्रालयको टोलीसँग भेट गरेलगत्तै अध्यक्षका प्रत्यासी कुल आचार्यसँग छलफल गर्दै सहमति गरेर विवाद टुंग्याउन लागिपर्नु भएको छ ।

यसअघि मन्त्रालयमा निर्वाचनमा सहभागि हुने प्रतिनिधि चयनमा धाँधली गरिएको भन्दै उजुरी परेको थियो । मन्त्रालयले सोही उजुरीको आधारमा एक छानवीन समिति बनाउँदै तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको थियो ।


प्रकाशित | ४ आश्विन २०७८, सोमबार २२:०४