विश्वकप क्रिकेट: आज उपाधि दाबेदार अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको नटिङघममा हुने खेलमा उपाधि दाबेदार अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

ट्रेण्ड ब्रिजमा बिहिबार दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै शीर्ष चारको सम्भावना बलियो बनाउन चाहन्छ । तुलनात्मक रुपमा बलियो टिम अष्ट्रेलिया पाँचौ जितको खोजीमा हुनेछ । अष्ट्रेलियाले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ ।

तेस्रो स्थानमा रहेको अष्ट्रेलिया बंगलादेशलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, उच्च प्रदर्शन गरिरहेको बंगलादेशसंग अष्ट्रेलिया शतर्क भएर खेल्नेछ । बंगलादेश पनि अष्ट्रेलियालाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ । जसको लागि बंगलादेशले जादुमय प्रदर्शन गर्नु पर्नेछ । बंगलादेशले जारी विश्वकपमा जुझारु प्रदर्शन समेत गरिरहेको छ ।

बंगलादेशले ५ खेलबाट ५ अंक जोडेको छ । बंगलादेशले २ जित, २ हार र एक खेल बराबरी खेलेको छ । दुई टिमबीचको पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ३ खेल जितेको छ । एक खेल रद्द र एक खेल नतिजाविहीन बनेको थियो ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०९:१८