कर्मचारीको मिलेमतोमा १६ गैर नेपालीलाई नागरिकता

काठमाडौ: जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको पाइएको राजधानी दैनिकमा खबर छ । गैरकानुनी रूपमा नागरिकता दिएको पाइएपछि गृह मन्त्रालयले सो कार्यालयका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी छानबिन थालेको छ ।

निलम्बनमा पर्नेमा प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले सेटिङमा गैरनेपालीलाई नागरिकता दिएको पाइएको हो ।

गैरनेपालीलाई नागरिकता दिन सिफारिस गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानबिन थालिएको छ । प्रशासन स्रोतका अनुसार २०७३ सालदेखि २०७६ सालको हालसम्म १६ जना गैरनेपालीलाई नागरिकता दिइएको पाइएको छ ।

१६ जना गैरनेपालीलाई नागरिकता दिँदा खरिदार तेजेन्द्रले सनाखत गराएका छन् भने नायब सुब्बा निरौलाले टिप्पणी पेस गराएका छन् । त्यसपछि अधिकृत ढुंगेलले नागरिकता जारी गरेका छन् ।

यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा नौ जनाको बाबु एउटै कायम गरिएको छ । गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई जिम्मेवारी दिएको छ ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०८:१५