एनआरएनए आइसीसीको कार्यकाल ६ महिना थप्ने निर्णय, केहि पदाधिकारीको भने असहमति

काठमाडौं  – गैर आवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिको म्याद ६ महिना थपिएको छ । वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वको कार्यसमितिको म्याद ६ महिना थपिएको हो ।  संघको बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको जनाइएको छ ।

कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय पनि गरिएको छ ।  यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो।

मन्त्रालयको पत्रपछि २३ देखि २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो । बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ ।

उता केहि पदाधिकारीले भने ६ महिना थप्ने निर्णयप्रति असहमति जनाएका छन् । बैठकले कार्यसमितिको म्याद ६ महिना थप्ने निर्णय नगरिएको भन्दै बाहिर आएको सूचना सत्य नभएको उनीहरुको दावी छ ।


प्रकाशित | २ कार्तिक २०७८, मंगलवार ०९:५४