विश्व रेकर्ड राख्न सफल ‘मिस शेर्पा’ दाबुटीले पाइन प्रमाणपत्र

काठमाडौं :  मिस शेर्पा दावुटी शेर्पाले सगरमाथा चुचुरोमा कफी पकाएर खुवाएको विश्व रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । दोलखाकी चेली दावुटीले गत  जनवरीमा सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको दावुटीले प्रमाणपत्र प्राप्त गर्नुभएको हो । यो पटक नेपाली कफीलाई विश्व सामु पुर्याउने उद्देश्यले दावुटीले सगरमाथाको आरोहण गर्नुभएको थियो ।

दावुटी ‘हाम्रो सगरमाथा – हाम्रो गौरव – कृषि विकासमा हाम्रो पौरख’ भन्ने मूल नाराका साथ सगरमाथाको चुचुरोमा पुग्दै कफी पकाएर रेकर्ड राख्न सफल भएपछि उपराष्ट्रपति नन्दबहादुर पुनले दावुटीलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

दावुटी दोलखा जिल्लाको विकट गाँउ गौरीशंकर हिमालको काखमा रहेको सिमीगाँउमा वि. सं. २०५१ सालमा जन्मिनु भएको हो । दावुटीले २०६६ सालमा आफ्नै जिल्लाको विद्यालयबाट एसएलसी पास गरे पश्चात पढाईलाई अघि बढाउन राजधानी पस्नु भएको दाबुटीले पढाईसँगै कफी बनाउने तलिम लिनुभयो । मितिनी क्याफेबाट कफी सम्बन्धी तालिम लिएकी दाबुटीले तालिम पश्चात यसै क्याफेमा काम गर्ने अवसर पाउनुभएको थियो ।

केही बर्षको अनुभव पश्चात मितिनी क्याफेबाट नै कफी सम्बन्धी तालिम दिदै आफ्नो पेशालाई अगाडी बढाउनुभएको थियो । उहाँले मितिनी सँगै अन्य विभिन्न क्याफेबाट पनि प्रशिक्षकको काम गर्नुभयो भने अहिले बौद्दमा आफ्नै लगानीमा मितिनी क्याफे बौद्ध सञ्चालन गरिरहनु भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरणसँगै दाबुटी शेर्पाको सफलता एकपछि अर्को चुलिदै गएको छ । दावुटीले सगरमाथाको सफल आरोहणसँगै मिस शेर्पा २०७५ विजेता बन्नुभयो । अब दाबुटी शेर्पा क्रोएसियामा हुन लागिरहेको ‘मिस इन्टरनेसनल टुरिजम’मा भाग लिन त्यसतर्फ जाने तयारीमा जुट्नु भएको छ ।

मिस शेर्पाको ताज जित्न सफल दाबुटी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो मिस शेर्पा हुनुहुने भएको छ । विश्वमाझ पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले आयोजित प्रतियोगितामा नेपालीले पहिलोपटक भाग लिँदै छन्। भ्रमण वर्ष २०२० सफल बनाई २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा सहयोग गर्न नेपालको पर्वतारोहण र अन्य पर्यटकीय क्षेत्रको प्रचारमा जुट्ने तयारी थालेको दाबुटीले बताउनुभयो ।

दावुटी आगामी अप्रिलमा त्यसतर्फ जान लागनुभएको हो । २३ वर्षीया दाबुटीले क्रोएसियामा हुने प्रतियोगितामा भाग लिएर देशको पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुहुनेछ । नेपाल हिमालै हिमालको देश भए पनि प्रचारप्रसारको अभावले पर्वतीय पर्यटनको विकास हुन नसकेकाले आफूले नेपाललाई चिनाउने लक्ष्य लिएको बताउनुभयो ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार ११:०१