सडक नै नभएको ठाउँमा आठ करोडको पुल

दोलखा: सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन ।

गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो । दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झन्डै चार किलोमिटरअगाडिको बन्चरेभन्दा डेढ किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैँले गरेको थियो । ५० लाख बजेट खर्चेर विभागले पुलसम्म पुग्ने झन्डै डेढ किलोमिटर बाटो बनाएपछि बल्ल स्थानीयले थाहा पाए खोलामा पुल बन्दै छ भनेर । त्यसअघि न सडकको ट्र्याक नै थियो, न त पुल हुँदै पुग्ने गन्तव्यका बारेमा चर्चा नै ।

सडक विभागले ०७१ मा ६० मिटर लामो आर्क डिजाइनको पुल बनाउन लगाएको ठेक्काअनुसार अहिले काम भइरहेको छ । ठेकेदार कम्पनीले भूकम्प, नाकाबन्दी र पुलसम्म पुग्ने सडककै कारण काममा ढिलाइ भएको जनाएको छ । बन्चरेबाट उक्त पुलसम्म पुग्ने सडक अहिले पनि पूरै अस्तव्यस्त छ । सो बाटो भएर कुनै पनि सवारीसाधन चल्ने अवस्थासमेत छैन । कन्काई इन्टरनेसनल बिल्डर्सले दोलखाको रिमाल निर्माण सेवालाई सब कन्ट्र्याक्टरका रूपमा कामको जिम्मेवारी सुम्पेको थियो । दोलखास्थित रिमाल निर्माण सेवाका प्रमुख हेमराज रिमालले दुवैतर्फ आवत–जावत गर्ने एप्रोच सडक नभएकै कारण काममा ढिलाइ भएको बताउनुभयो । त्यसबाहेक ठेक्का सम्झौता भएलगत्तैको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दीले समेत काममा उल्लेख्य प्रगति हुन नसकेको रिमालको दाबी छ । यो समाचार श्याम खतिवडाले नयाँ पत्रिका दैनीकमा लेख्नुभएको छ ।


प्रकाशित | १ असार २०७६, आईतवार ०८:२८